धनगढी, १ साउन/जिल्ला विपद् व्यवस्थापन समिति कैलालीले मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो। बैठकमा सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, सञ्चार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
बैठकले सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त बस्ती तथा नदी तटीय क्षेत्रको निरन्तर अनुगमन गर्न, आवश्यक उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा विपद् प्रभावित नागरिकको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पूर्वतयारी पूरा गर्न निर्देशन दिएको छ।
यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्धार तथा खोज कार्यका लागि आवश्यक जनशक्ति, उपकरण तथा सवारी साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। स्वास्थ्य संस्थाहरूलाई आकस्मिक स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्थापन सुनिश्चित गर्न पनि निर्णय गरिएको छ।
बैठकले वर्षायाममा अवरुद्ध हुन सक्ने सडक, पुल, विद्युत् तथा सञ्चार सेवाको शीघ्र पुनःस्थापनाका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न जोड दिएको छ। साथै नदी किनार, जोखिमयुक्त बस्ती तथा पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायमा उपलब्ध गराउन तथा नागरिकलाई आधिकारिक सूचना प्रणालीमार्फत मात्र जानकारी लिन आग्रह गरेको छ। विपद्को अवस्थामा सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय गरी जनधनको क्षति न्यून गर्ने लक्ष्यसहित निर्णयहरू कार्यान्वयन गरिने कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
बैठकका निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै कार्यालय तथा निकायलाई औपचारिक रूपमा पत्राचारसमेत गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।