धनगढी २३ असार/ सुदूरपश्चिम प्रदेशमा युवा तथा विद्यार्थीलाई सही करियर छनोट गर्न सहजीकरण गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालनमा आएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, धनगढी हसनपुरमा स्थापना गरिएको केन्द्रको उद्घाटन सोमबार प्रदेश सरकारका राज्यमन्त्री मधु देवी भारती र प्रदेश नीति तथा योजना आयोगका सचिव गणेश बहादुर सिंहले संयुक्त रूपमा गरेका हुन् ।
नवनिर्मित केन्द्रले कक्षा ८ देखि १० सम्मका विद्यार्थी तथा युवाहरूलाई आफ्नो रुचि, क्षमता र श्रम बजारको आवश्यकताअनुसार उपयुक्त वृत्ति छनोट गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । केन्द्रमार्फत सामूहिक तथा व्यक्तिगत वृत्ति परामर्श, अभिभावक अभिमुखीकरण, डिजिटल माध्यमबाट करियर परामर्श तथा अनलाइन स्रोतमार्फत श्रम बजारसँग जोड्ने सेवा प्रदान गरिने छ ।
केन्द्रमा प्रशिक्षित वृत्ति परामर्श सहजकर्ता तथा दक्ष परामर्शदाताबाट सेवा उपलब्ध गराइनेछ। साथै माध्यमिक विद्यालयका शिक्षकहरूलाई कक्षा ८, ९ र १० मा वृत्ति मार्गदर्शन सेवा सञ्चालन गर्न आवश्यक तालिमसमेत प्रदान गरिने जनाइएको छ। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको डिजिटल प्रणालीमार्फत विद्यार्थीको रुचि र क्षमता (साइकोमेट्रिक) परीक्षण गरी उनीहरूको क्षमतालाई श्रम बजारको मागसँग मेल गराउने व्यवस्था गरिएको छ । आगामी दिनमा स्थानीय तहका रोजगार सेवा केन्द्रसँग सहकार्य गरी विभिन्न पालिकामा उपकेन्द्र स्थापना गर्दै सेवा विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री मधु देवी भारतीले केन्द्रको भौतिक संरचना सानो देखिए पनि यसको उद्देश्य निकै ठूलो रहेको बताइन् । डिजिटल माध्यमबाट विद्यार्थीहरूले आफ्नै क्षमता परीक्षण गरी भविष्यको करियर छनोट गरिरहेको दृश्य उत्साहजनक रहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षामा गरिएको लगानीको औचित्य यस्ता कार्यक्रममार्फत पुष्टि भएको धारणा व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमलाई संस्थागत गर्दै सबै पक्षको सहभागितामा प्रदेशभर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
प्रदेश नीति तथा योजना आयोगका सचिव गणेश बहादुर सिंहले विद्यालय तहदेखि नै विद्यार्थीलाई वृत्ति छनोटसम्बन्धी मार्गनिर्देशन उपलब्ध गराउन सके सक्षम, आत्मनिर्भर र चरित्रवान नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले सेवा प्रभावकारी बनाउन विद्यालय र प्रशिक्षित वृत्ति मार्गनिर्देशन शिक्षकको संख्या बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास मन्त्रालयका शिक्षा, योजना तथा अनुसन्धान महाशाखा प्रमुख जयदेव महराले प्रदेशमा परियोजनामार्फत ५४ विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । हालै थप ३२ वटा नमुना विद्यालयका शिक्षकलाई शिक्षा तालिम केन्द्रमार्फत वृत्ति मार्गनिर्देशन तालिम प्रदान गरिएको उल्लेख गर्दै उनले मानव संसाधनको क्षमता अभिवृद्धि नै दिगो विकासको आधार भएकाले प्रदेशभर सेवा विस्तार गरिने बताए ।
कार्यक्रममा दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनामा प्राविधिक सहयोग गर्दै आएको हेल्भेटास नेपालका सुदूरपश्चिम प्रदेश प्रबन्धक कुशबहादुर गुरुङले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । समारोहमा पञ्चोदय माध्यमिक विद्यालयका २० जना विद्यार्थीको अनलाइन वृत्ति छनोट परीक्षणसमेत गरिएको थियो ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सुदूरपश्चिम प्रदेश कार्यालयका उपनिर्देशक देवसिंह धामी, स्किल ल्याबका टिम लिडर शिरीजंग हाङ राई, कैलाली उद्योग वाणिज्य संघ, सामी कार्यक्रम, स्वीसकन्ट्याक्ट तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।