काठमाडौं, २२ असार / गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावलले सोमबार पदभार ग्रहण गर्दै संस्थानको डिजिटल तथा आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मन्त्रीपरिषद्को असार १८ गतेको निर्णयबाट महाप्रबन्धक नियुक्त हुनुभएका रावलले पदबहालीपछि गोरखापत्र नेपाली पत्रकारिताको गौरवपूर्ण इतिहास बोकेको संस्था भएकाले यसको विश्वसनीयता अझ सुदृढ बनाउने गरी काम गर्ने बताउनुभयो।
उहाँले स्पष्ट योजना र जिम्मेवारीसहित संस्थानमा आएको उल्लेख गर्दै ऐन–नियमको परिधिभित्र रहेर संस्थानलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्ने धारणा राख्नुभयो। विगतका कामको समीक्षा गर्दै पत्रकार, कर्मचारी र व्यवस्थापनबीचको सहकार्यबाट संस्थानको उन्नयन सम्भव हुने उहाँको भनाइ थियो।
संस्थानको रूपान्तरणका लागि कर्मचारीको कार्यशैली, सोच र प्रकाशन सामग्रीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै रावलले व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई केन्द्रमा राखेर सुझाव दिन कर्मचारीलाई आग्रह गर्नुभयो। उहाँले संस्थान सुधार सबैको साझा दायित्व भएको पनि बताउनुभयो।
पदबहाली कार्यक्रममा निमित्त प्रमुख उमेशकुमार ओझा, सञ्चालक समिति सदस्य लक्की चौधरी, गोरखापत्रका प्रधान सम्पादक जुनार बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्साल, प्रशासन निर्देशक ताराबहादुर बस्याल, उत्पादन निर्देशक ओमप्रकाश भुषाललगायतको उपस्थिति रहेको थियो।
पदभार ग्रहणअघि रावलले संस्थान परिसरमा रहेको जयपृथ्वीबहादुर सिंहको शालिकमा माल्यार्पण गर्नुभएको थियो। त्यसपछि उहाँले संस्थानका विभिन्न विभाग तथा उत्पादन कक्षको अवलोकन गर्दै कार्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का रावल पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। करिब २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उहाँ पछिल्लो समय बीबीसी नेपाली सेवाको सुदूरपश्चिम संवाददाताका रूपमा कार्यरत हुनुहुन्थ्यो।