बैतडी, २२ असार / सुर्नया गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल निर्माण कार्य पटक–पटक म्याद थप्दा पनि अझै सम्पन्न हुन सकेको छैन। करोडौँ रुपैयाँ खर्च भइसके पनि अस्पतालको भौतिक प्रगति ६१.५३ प्रतिशतमा सीमित हुँदा गाउँपालिकाको अनुगमन, जवाफदेहिता र नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार १४ करोड ९९ लाख ८४ हजार ८३९ रुपैयाँ ३० पैसा लागत अनुमान गरिएको अस्पताल निर्माणका लागि २०७८ माघ २६ गते १२ करोड ९१ लाख ३२ हजार ३९१ रुपैयाँ ९० पैसामा निर्माण व्यवसायी सी एम एसके शिवलिङ जे.भी.सँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।
प्रतिवेदनअनुसार हालसम्म सातौँ रनिङ बिलसम्म ८ करोड ५४ लाख ५७ हजार ३८६ रुपैयाँ (पेश्कीसहित) भुक्तानी भइसकेको छ। तर निर्माण कार्यको भौतिक प्रगति ६१.५३ प्रतिशत मात्रै पुगेको उल्लेख गरिएको छ। निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरिए पनि निर्माण व्यवसायीबाट आवश्यक निवेदन, कार्यतालिका र ढिलाइको पर्याप्त आधार पेश नगरिएको अवस्थामा समेत म्याद थपिएको महालेखाले औँल्याएको छ।
महालेखाले सम्झौताअनुसार कट्टा हुनुपर्ने ६० लाख रुपैयाँ पेश्की रकम कट्टा नगरी भुक्तानी गरिएको भन्दै उक्त रकम नियमबमोजिम असुलउपर गर्न निर्देशन दिएको छ।
यस्तै, निर्माण कार्यको बीमाको म्याद २०८१ असार १९ गतेमै सकिए पनि नवीकरण नगरिएको प्रतिवेदनमा उल्लेख छ। अस्पतालको ब्लक–बीमा निर्माण हुनुपर्ने दुई वटा रिटेनिङ वालमध्ये एउटा मात्रै निर्माण हुँदा बाँकी वाल नबन्दा माथिबाट माटो र ढुंगा खसेर ब्रिकवर्कको केही भागमा क्षति पुगेको पनि महालेखाले जनाएको छ।
प्रतिवेदनले बाँकी रिटेनिङ वाल तत्काल निर्माण गर्न, बीमाको म्याद नवीकरण गर्न, पेश्की कट्टा गर्न तथा बाँकी निर्माण कार्य शीघ्र सम्पन्न गराउन सुर्नया गाउँपालिकालाई निर्देशन दिएको छ।
स्थानीयवासीले भने अस्पताल निर्माणमा भइरहेको निरन्तरको ढिलाइका कारण आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा वर्षौंदेखि अधुरै रहेको बताएका छन्। विकास निर्माणलाई प्राथमिकता दिएको दाबी गर्ने गाउँपालिकाको नेतृत्वले समयमै निर्माण सम्पन्न गराउन नसक्दा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग र विकास आयोजनाको व्यवस्थापनमाथि प्रश्न उठेको छ।
महालेखाले औँल्याएका कमजोरीहरू समयमै सुधार गरी अस्पताल निर्माण सम्पन्न गराउन नसके सुर्नयाका नागरिकले अझै कति वर्ष स्वास्थ्य सेवा कुर्नुपर्ने हो भन्ने प्रश्न यथावत् छ।