धनगढी, २१ असार / सुदूरपश्चिम प्रदेशका एसईई उत्तीर्ण विद्यार्थीको प्रतिभा राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुँदै आएको प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता ‘एसईई आइडल’ को छैटौं संस्करण धनगढीमा सुरु भएको छ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.को आयोजनामा मिलनचोकस्थित वैशेषिक पाठशालामा शनिबार आयोजित समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो।
आयोजक संस्थाका अध्यक्ष प्रकाश छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन धनगढीका अध्यक्ष ध्रुवबहादुर सिंह प्रमुख अतिथि रहनुभएको थियो। वाइवाइ चाउचाउका सुदूरपश्चिम प्रमुख सुन्दर खनाल र वैशेषिक पाठशालाका प्राचार्य विवेक भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनमा प्रतियोगिताले उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले राज्यले गर्नुपर्ने सिर्जनात्मक अभियानलाई निजी क्षेत्रले निरन्तरता दिएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो।
प्रतियोगितामा वि.सं. २०८३ सालको एसईई परीक्षामा सहभागी भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। प्रतियोगिता नृत्य र गायन गरी दुई विधामा सञ्चालन हुनेछ।
दुवै विधाका विजेताले नगद रु. १ लाख ११ हजार १११, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। उपविजेताले रु. ५५ हजार ५५५, ट्रफी, प्रमाणपत्र र छात्रवृत्ति पाउने आयोजकले जनाएको छ।
आयोजकका अनुसार अडिसन र भिडियो राउन्ड २०८३ माघसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको सेमिफाइनल २०८४ वैशाख १५ गते र ग्रान्ड फाइनल २०८४ जेठ ५ गते आयोजना गरिनेछ।