धनगढी, २१ असार / महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ सबै आवश्यक बिल तथा कागजातसहित पठाइएको गुड मिस्री बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालयमा बुझाएपछि व्यापारीले आफूलाई अनावश्यक रूपमा दुःख दिइएको आरोप लगाएका छन्। उता सशस्त्र प्रहरीले भने विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको भन्दै कानुनबमोजिम भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।
पञ्चलक्ष्मी ट्रेड एण्ड सप्लायर्स, महेन्द्रनगरका सञ्चालक पदमराज पाण्डेयका अनुसार न.सु.प.प्र. ०२–००१ ख १२२२ नम्बरको ट्रकमा १२१ बोरा गुडगट्टा र ३०० बोरा गुड लोड गरी सबै आवश्यक कागजात पूरा गरेर बझाङको चैनपुर पठाइएको थियो। उनले उक्त सामानको मूल्य ३ लाख ३५ हजार रुपैयाँ रहेको जानकारी दिए।
पाण्डेयका अनुसार शुक्रबार राति करिब १० देखि ११ बजेको बीचमा अत्तरिया क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर त्रिनगर, कैलालीको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकसँगै चालकसहित तीन जनालाई पनि नियन्त्रणमा लिइए पनि पछि उनीहरूलाई छाडिएको र ट्रक भने कैलाली भन्सार कार्यालयमा बुझाइएको उनले बताए।
व्यापारी पाण्डेयले सशस्त्र प्रहरीका डीएसपी मोहनजङ्ग कार्कीको नेतृत्वमा ट्रक नियन्त्रणमा लिइएको दाबी गर्दै सबै कानुनी प्रक्रिया पूरा भएको अवस्थामा पनि ट्रक जफत गरिनु न्यायोचित नभएको बताए। उनका अनुसार सुरुमा ट्रकलाई ‘बेवारिसे’ भन्दै भन्सार कार्यालय पठाइएको थियो। पछि आफूहरूले सामानको बिल र कागजात रहेको जानकारी गराएपछि बिलसमेत संलग्न गरी अर्को पत्र पठाइएको भन्दै उनले सशस्त्र प्रहरीको नियतमाथि नै प्रश्न उठाए।
‘हामीले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर सामान पठाएका थियौँ। सामान बिग्रिने प्रकृतिको भएकाले ढिलाइ हुँदा थप क्षति हुने अवस्था सिर्जना भएको छ,’ पाण्डेयले भने।
यता, कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले सामान बुझाउँदा वारिसे वा बेवारिसे भन्ने विषय सुरुमै स्पष्ट हुनुपर्ने बताए। पछि बिलसहित कागजात प्राप्त भएको उल्लेख गर्दै उनले बिलअनुसारकै सामान भएको पुष्टि भए व्यापारीलाई अनावश्यक दुःख दिन नहुने धारणा व्यक्त गरे।
सशस्त्र प्रहरी बलका डीएसपी मोहनजङ्ग कार्कीले भने विशेष सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको बताए। उनका अनुसार शुक्रबार राति ट्रक नियन्त्रणमा लिए पनि शनिबार भन्सार कार्यालय बन्द रहेकाले आइतबार कार्यालयमा बुझाइएको हो। उनले अब आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया भन्सार कार्यालयबाट अघि बढ्ने जानकारी दिए।
कैलाली भन्सार कार्यालयले आइतबार सार्वजनिक बिदा परेकाले यस विषयमा आवश्यक प्रक्रिया र निर्णय सोमबार अघि बढाइने जनाएको छ।
उता, सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीले नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा बुझाइसकिएको र अब यस विषयमा थप प्रतिक्रिया दिनुपर्ने अवस्था नरहेको बताए।