कञ्चनपुर, २० असार / क्लाफाँटा नगरपालिकालाई स्वच्छ, सुन्दर, हराभरा तथा वातावरणमैत्री नगरका रूपमा विकास गर्ने उद्देश्यसहित शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले ‘ग्रीन एण्ड क्लीन शुक्लाफाँटा’ अभियान सुरु गरेको छ। नगरप्रमुख रणबहादुर महराले अभियानको उद्घाटन गर्दै नगरपालिकाले अभियानमा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वच्छ र वातावरणमैत्री नगर निर्माणका लागि स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, व्यवसायी, विद्यार्थी तथा स्थानीयवासीको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। बजार क्षेत्रका सडक, सार्वजनिकस्थल तथा खुला स्थानमा छरिएका प्लास्टिकजन्य फोहर सङ्कलन गरी व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरिएको आयोजकले जनाएको छ।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशबहादुर धामीले वातावरण संरक्षण वर्तमानको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्वसमेत भएकाले अभियानलाई दीर्घकालीन जनअभियानका रूपमा अघि बढाइएको बताए। उनका अनुसार नगरका विभिन्न स्थानमा वातावरणमैत्री बाँसबाट निर्मित डोको राख्ने कार्य सुरु गरिएको छ भने अभियानलाई झलारी बजारबाट कलुवापुर, वन समिति क्षेत्र तथा ग्रामीण बजारसम्म विस्तार गरिनेछ।
उनले सबै वडामा प्लास्टिकजन्य फोहर न्यूनीकरण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै घरघरमै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने बानीको विकासमा पनि जोड दिइने बताए।
होटल व्यवसायी सङ्घ कञ्चनपुरका सदस्य रमेश रावलले प्रत्येक घरबाट फोहर वर्गीकरण गर्ने संस्कार विकास गर्न सके नगरको सरसफाइमा उल्लेखनीय सुधार आउने बताए। उनले सङ्कलित फोहरको नियमित सङ्कलन र वैज्ञानिक व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
अभियानका अगुवा विवेक रावलले वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
सहभागी विमल शाहले एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्री दशकौँसम्म नष्ट नहुने भएकाले माटो, पानी, हावा तथा जलचर जीवमा दीर्घकालीन असर पर्ने बताए। उनले प्लास्टिक जलाउँदा विषालु ग्यास उत्सर्जन हुने भएकाले यसको प्रयोग घटाई पुनःप्रयोगयोग्य सामग्रीको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए।
अभियानमा सहभागी जनप्रतिनिधिहरूले नगरलाई प्लास्टिकमुक्त बनाउन विद्यालय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा सामुदायिक संस्थालाई समेत अभियानमा आबद्ध गरिने बताएका छन्।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले आगामी दिनमा नियमित सरसफाइ, वृक्षरोपण, प्लास्टिक प्रयोग न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय सचेतना तथा व्यवसायीलाई वातावरणमैत्री विकल्प प्रयोग गर्न प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै स्वच्छ वातावरण, व्यवस्थित बजार र हराभरा नगर निर्माणका लागि स्थानीय सरकार, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने सङ्घको भनाइ छ।
