धनगढी, २० असार / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले शनिबार धनगढी विमानस्थलमा रहेको वेयरहाउस (भण्डारण गृह) को स्थलगत निरीक्षण गर्नुभएको छ।
मन्त्री सार्कीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायका प्रदेश प्रमुखहरूसँग संयुक्त रूपमा वेयरहाउसको अवलोकन गर्नुभएको हो।
निरीक्षणका क्रममा वेयरहाउसको सुरक्षा व्यवस्था, भण्डारण प्रणाली तथा समग्र व्यवस्थापनबारे जानकारी लिइएको थियो। मन्त्री सार्कीले विमानस्थलको भण्डारण सुविधा सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वय तथा निगरानीलाई थप सुदृढ गरिने बताउनुभयो।
प्रदेश सरकारको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने, संवेदनशील संरचनाको नियमित अनुगमन गर्ने तथा सम्बन्धित निकायबीच समन्वय अभिवृद्धि गर्ने उद्देश्यले उक्त निरीक्षण गरिएको जनाइएको छ।
मन्त्री सार्कीले सुरक्षा निकायलाई जिम्मेवारीप्रति थप सजग रहँदै नागरिकको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो।
