हामी अहिले जलवायु परिवर्तनको सामान्य अवस्थाबाट अघि बढेर जलवायु संकटको युगमा प्रवेश गरिरहेका छौँ। समयभन्दा अगाडि गुराँस फुल्नु, काफल पाक्नु, हिउँद चिसो नहुनु, वर्षायाममा नियमित वर्षा नहुनु, पानीका मुहान सुक्दै जानु र भू-जलको सतह घट्नुजस्ता घटना अब असामान्य होइनन्। यी सबै प्रकृतिले दिएको स्पष्ट सन्देश हुन् कि पृथ्वीको जलवायु प्रणाली असन्तुलित बन्दै गएको छ। यो संकट नेपालमा मात्र होइन, सारा विश्वले भोगिरहेको साझा चुनौती हो।
यस्तो अवस्थामा वर्षा होस् भनेर पूजा-आराधना गर्नु हाम्रो संस्कृति र आस्थाको विषय हो। म पनि आस्थाको सम्मान गर्छु। हाम्रा मठमन्दिर, देवस्थल र धार्मिक परम्परा समाजका महत्वपूर्ण आधार हुन्। तर आस्थाको नाममा समाजलाई भ्रममा राख्ने, वैज्ञानिक तथ्यलाई ओझेलमा पार्ने वा मानिसको भावनामाथि राजनीति गर्ने प्रयास भने स्वीकार्य हुन सक्दैन।
आजको युग कृत्रिम बुद्धिमत्ता (एआई), उपग्रह प्रविधि र वैज्ञानिक अनुसन्धानको युग हो। नेपालमा पनि जल तथा मौसम विज्ञान विभागले उपग्रह, राडार र मौसमीय मोडलका आधारमा केही दिनअगाडि नै वर्षाको सम्भावना सार्वजनिक गर्छ। यदि विभागले एक हप्ताअघि नै कुनै क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिसकेको छ र त्यसपछि कसैले आफूले विशेष पूजा गरेकाले पानी परेको दाबी गर्छ भने त्यो वैज्ञानिक सत्य होइन, संयोगलाई चमत्कारका रूपमा बेच्ने प्रयास हुन सक्छ।
यहीँनेर प्रश्न उठ्छ! के हामी आस्था गरिरहेका छौँ, कि आस्थाको नाममा सिर्जना गरिएको भ्रमलाई सत्य ठानिरहेका छौँ ?
दुर्भाग्यको कुरा, हाम्रो समाजमा केही व्यक्तिहरूले जनताको धार्मिक भावनामाथि टेकेर आफूलाई असाधारण शक्ति भएको व्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गर्छन्। पानी पर्नु, खडेरी हट्नु वा प्राकृतिक घटना आफ्नो धार्मिक कर्मका कारण भएको भन्ने दाबी गर्नु कुनै प्रमाणमा आधारित कुरा होइन। यस्तो प्रवृत्तिले धर्मको प्रतिष्ठा बढाउँदैन, बरु धर्मप्रतिको विश्वासलाई नै कमजोर बनाउँछ। जब वास्तविकता दाबीसँग मेल खाँदैन, त्यसको असर अन्ततः आस्थामै पर्छ।
धर्मले कहिल्यै असत्य बोल्न, भ्रम फैलाउन वा मानिसलाई अज्ञानतर्फ डोर्याउन सिकाएको छैन। त्यसैले आस्थाको नाममा गरिने ढोंगको विरोध गर्नु धर्मको विरोध होइन। बरु धर्मलाई गलत प्रयोगबाट जोगाउने प्रयास हो।
जलवायु संकटको समाधान पूजा मात्र गरेर सम्भव छैन। त्यसका लागि वन संरक्षण, पानीका मुहानको पुनर्जीवन, भू-जल पुनर्भरण, वातावरणमैत्री विकास, कार्बन उत्सर्जन न्यूनीकरण र विज्ञानमा आधारित नीति आवश्यक छ। पूजा गर्नेले पनि रूख रोप्नुपर्छ, पानीका स्रोत जोगाउनुपर्छ र वैज्ञानिक चेतनालाई स्वीकार्नुपर्छ। यही नै आस्था र कर्मको सन्तुलन हो।
हामी भगवानमा विश्वास गरौँ, पूजा गरौँ, आस्था राखौँ। तर वर्षा कहिले हुन्छ भन्ने प्रश्नको उत्तर मौसम विज्ञानले दिन्छ, चमत्कारको दाबीले होइन। आस्था व्यक्तिगत विश्वासको विषय हो, तर सार्वजनिक अभिव्यक्ति र नीतिगत निर्णय वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्छ।
जलवायु संकटको यो कठिन समयमा समाजलाई आवश्यक परेको कुरा चमत्कारको कथा होइन, सत्य सूचना हो; ढोंग होइन, जिम्मेवार नेतृत्व हो; भ्रम होइन, वैज्ञानिक चेतना हो। किनभने अन्ततः प्रकृतिले हाम्रो विश्वास होइन, हाम्रो व्यवहारको परिणाम देखाउँछ।