धनगढी, ६ असार / नेकपा (एमाले)को पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय भेला शनिबार धनगढीमा सुरु भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमालेका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ।
भेलाको उद्देश्य गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्नु रहेको नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले जानकारी दिए। सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ पनि भेलामा सहभागी छन्।
यसअघि कार्यदलले कोसी र लुम्बिनी प्रदेशमा यस्तै भेला आयोजना गरिसकेको छ। ती भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड दिएका थिए। एमालेले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा भेला सुरु गरिएको हो।
प्रदेशस्तरीय भेलाबाट संकलन भएका सुझावका आधारमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरिने जनाइएको छ।