धनगढी , ३ असार / सुदूरपश्चिम प्रदेश युवा परिषद्ले आयोजना गरेको नमुना युवा सांसद २०८३ अन्तर्गत गठित नमुना प्रदेश सरकारको मुख्यमन्त्रीमा युवा सन्तोष रावल चयन भएका छन्।
प्रदेश युवा परिषद्को आयोजनामा असार २ गतेदेखि धनगढीमा सञ्चालन भइरहेको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी युवाको सहभागिता रहेको छ। युवाहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया तथा नेतृत्व विकाससँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम विगतका वर्षहरूझैँ यस वर्ष पनि युवामाझ आकर्षणको केन्द्र बनेको छ।
नमुना प्रदेश सभा सञ्चालनका लागि आज नमुना प्रदेश सरकार गठन गरिएको हो। सरकार गठनसँगै विभिन्न संवैधानिक तथा मन्त्रीस्तरीय जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ। नमुना प्रदेश सभामा ओमप्रकाश जोशी सभामुख तथा सिर्जना विश्वकर्मा उपसभामुख चयन भएका छन्। यस्तै, चेतन भट्ट प्रतिपक्षी दलको नेता, अन्कित श्रेष्ठ प्रमुख सचेतक र अस्लेशा साउद सचेतकको भूमिकामा रहेका छन्।
नमुना मन्त्रिपरिषद्मा दुर्गा बडुवाल सामाजिक विकास मन्त्री, पार्वती भट्ट आर्थिक मामिला मन्त्री, कृतिका खड्का भौतिक पूर्वाधार मन्त्री, दीप पिन जोशी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, हरि कपाडी कानुन मन्त्री तथा रोहित चनारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री चयन भएका छन्।
कार्यक्रमका प्रशिक्षक प्रकाश उपाध्याय रहेका छन्। प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदले यस्तो कार्यक्रमले सुदूरपश्चिमका युवामा नेतृत्व क्षमता विकास गर्न तथा सार्वजनिक नीतिप्रति बुझाइ बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
युवाहरूलाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासको अवसर प्रदान गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको नमुना युवा सांसद कार्यक्रम युएनएफपीए को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। कार्यक्रममार्फत युवाहरूले प्रदेश सभा सञ्चालनको वास्तविक अभ्यास गर्दै नेतृत्व र निर्णय प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गर्ने छन्।