धनगढी, ३ असार / समाजमा स्वीकार्यता बढ्दै गएको दाबी गरिए पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै सम्मानित र सहज जीवन जिउन संघर्ष गर्नुपरेको बताएका छन्।
धनगढीमा एकता नेपालले आयोजना गरेको “लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम” मा सहभागी समुदायका व्यक्तिहरूले सार्वजनिक जीवनमा आफूहरूले भोगिरहेका समस्या र विभेदका अनुभव साझा गरेका हुन्।
“हामीलाई अझै पनि समाजमा सहज रूपमा स्वीकार गरिएको अनुभूति हुँदैन,” कार्यक्रममा सहभागी एक समुदायका सदस्यले भने, “कोठा भाडामा लिन जाँदा पहिचानकै कारण अस्वीकार गरिन्छ, कतिपय अवस्थामा रोजगारीका अवसरबाट समेत वञ्चित हुनुपर्छ।”
समुदायका सदस्यहरूले पाहुनाघर, सार्वजनिक स्थल तथा कार्यस्थलमा समेत अपमानजनक व्यवहार र विभेदको सामना गर्नुपरेको गुनासो गरे। कानुनी रूपमा अधिकार सुनिश्चित भए पनि व्यवहारिक रूपमा अझै समान अवसर र सम्मान प्राप्त गर्न कठिनाइ रहेको उनीहरूको भनाइ थियो।
“हामी विशेष सुविधा होइन, अन्य नागरिकसरह सम्मान र समान व्यवहारको अपेक्षा गर्छौं,” अर्का एक सहभागीले भने, “पहिचानकै आधारमा गरिने विभेद अन्त्य हुन आवश्यक छ।”
कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दा, अधिकार र उपलब्धिलाई समाजसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। उनीहरूले समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सचेतना र संवादलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
एकता नेपालका प्रतिनिधिहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले भोगिरहेका समस्या राज्य, समाज र सरोकारवाला निकायको साझा चासोको विषय बन्नुपर्ने बताए। उनीहरूले समानता, सम्मान र अवसर सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा एकता नेपालका प्रतिनिधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तरक्रियामा समुदायका अधिकार, चुनौती र सम्मानित जीवनका लागि आवश्यक पहलका विषयमा छलफल गरिएको थियो।