धनगढी, १ असार / धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशन आज आयोजना हुँदैछ। धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुने अधिवेशनमा प्रदेशभरका प्रतिनिधिहरू सहभागी हुन धनगढी आइसकेका छन्।
पार्टीका अनुसार उद्घाटन सत्र सम्पन्न भएपछि नयाँ प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ। प्रदेश सभापति पदका लागि वर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र दार्चुलाका जनकराज पन्तको नाम चर्चामा रहे पनि विष्टको पक्षमा प्रतिनिधिहरूको समर्थन बढी देखिएको बताइन्छ।
रास्वपा सुदूरपश्चिमको संगठन विस्तारमा विष्टको भूमिका महत्वपूर्ण रहेको भन्दै धेरै प्रतिनिधिहरूले उनलाई अर्को कार्यकालका लागि पनि नेतृत्वमा निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। पार्टी स्थापना कालदेखि सक्रिय रूपमा संगठन निर्माणमा लागेका कारण विष्टलाई पुनः अवसर दिनुपर्ने मत बलियो रहेको नेताहरूको भनाइ छ।
यद्यपि नेतृत्व परिवर्तनको पक्षमा रहेका केही समूहले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। अधिवेशनस्थलमा नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल र आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको देखिएको छ।
अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाह ले गर्ने कार्यक्रम रहेको छ। शाह अधिवेशनमा सहभागी हुन धनगढी पुगिसकेका छन्।
