धनगढी, ३१ जेठ / कैलाली उद्योग वाणिज्य संघले गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्ग क्षेत्रमा डिभिजन वन कार्यालय कैलालीद्वारा गरिएको अतिक्रमण हटाउने अभियानका क्रममा भएको भनिएको धरपकड तथा अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष पुष्करराज ओझाद्वारा जारी प्रेस विज्ञप्तिमा वन क्षेत्रको गैरकानुनी अतिक्रमण नियम, कानुन र स्थापित प्रक्रियाअनुसार हटाउने कार्यको संघले सधैं समर्थन गर्ने उल्लेख गरिएको छ। सार्वजनिक सम्पत्ति तथा वन क्षेत्रको संरक्षण सबै सरोकारवालाको साझा दायित्व भएकोमा संघ स्पष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।
तर, अतिक्रमण हटाउने नाममा सम्बन्धित निकायका कर्मचारीबाट नागरिकमाथि अमानवीय व्यवहार, अनावश्यक बल प्रयोग तथा गैरजिम्मेवार कार्य हुनु स्वीकार्य नहुने संघको भनाइ छ।
विज्ञप्तिमा विशेष गरी पुरानो टेम्पोमा किराना व्यवसाय सञ्चालन गर्दै आएकी धना देवी धामीको टेम्पो वन कर्मचारीहरूले भिरबाट खसालेको भन्ने घटनाप्रति संघले घोर भर्त्सना व्यक्त गरेको छ। यस्ता गतिविधिले कानुनी शासन, मानव अधिकार तथा जिम्मेवार सार्वजनिक सेवाका मूल्यमान्यतामाथि प्रश्न उठाएको संघको ठहर छ।
कैलाली उद्योग वाणिज्य संघले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, संघले सम्पूर्ण सरोकारवाला निकायलाई कानुन, मानव अधिकार र नागरिक मर्यादाको सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।