धनगढी, २७ जेठ / संरक्षणको विशेष आवश्यकता भएका तथा जोखिममा रहेका बालबालिकाको संरक्षण र सामुदायिक विद्यालयमा बालमैत्री तथा अपाङ्गतामैत्री वातावरण स्थापना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक तथा बालमैत्री सामग्री वितरण गरिएको छ।
सेभ द चिल्ड्रेन र विकास लागि युवा एक्यवद्धता (यार्ड) को साझेदारीमा सञ्चालित सहयात्रा–III परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिका–२ स्थित नवदुर्गा माध्यमिक विद्यालय, वडा नं. ११ स्थित ठेकराज माध्यमिक विद्यालय, १२ स्थित श्री सिद्धनाथ माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय तथा वडा नं. १४ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा सामग्री हस्तान्तरण गरिएको यार्डकी प्रतिनिधि सुमिता खड्काले जानकारी दिइन्।
परियोजनाअन्तर्गत विद्यालयहरूलाई बालमैत्री कक्षाकोठा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको छ। वितरण गरिएका सामग्रीमा स्मार्ट टेलिभिजन, स्कूल ब्याग, कार्पेट, प्ले–फर्म, डस्टबिन, बुक र्याक, राउन्ड टेबल लगायत अन्य शैक्षिक तथा कक्षाकोठा व्यवस्थापनसम्बन्धी सामग्री रहेका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बालबालिकाका अभिभावक तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रमबाट प्रत्यक्ष रूपमा १४० जना बालबालिका लाभान्वित भएका छन्।
यार्डकी महासचिव सुमित्रा विष्टले जोखिममा रहेका बालबालिकाको संरक्षण र उनीहरूको सहभागिता सुनिश्चित गर्न संस्था सधैँ प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “जोखिममा रहेका बालबालिकाको सहभागिता र संरक्षणका लागि यार्ड सधैँ प्रतिबद्ध रहेको छ।”
सहयात्रा–III परियोजनामार्फत विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री सिकाइ वातावरण निर्माण गर्न सहयोग पुगेको विश्वास गरिएको छ। सरोकारवालाहरूले यस्ता कार्यक्रमले बालबालिकाको सिकाइ, आत्मविश्वास र विद्यालयप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।