काठमाडौं, २५ जेठ / ‘सेवा र विकासका लागि युवा’ संस्थाले देशभर १९ जिल्लाका करिब तीन हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
संस्थाले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुला जिल्लाका विद्यार्थीलाई झोला, कापी, कलम, अंग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश तथा क्याप वितरण गरिनेछ।
संस्थाले उक्त शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको जनाएको छ। कार्यक्रममार्फत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
२०७५ सालमा स्थापना भएको यस संस्थाले हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति, राहत तथा अन्य सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख गर्दै सबै सरोकारवालासँग सहकार्य र सहयोगको अपेक्षा गरेका छन्।
