धनगढी, २४ जेठ / बैतडीको सूर्नया गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु मोहरा (बोहरा)ले सेवा सुविधा लिने व्यवस्थामै नभएको सेवा सुविधा प्रयोग गरेका छन्। सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७५ बमोजिम गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शोकीय सचिवको सुविधा पाउने व्यवस्था गरिएको छैन। तर गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले सोकीय सचिव राख्दै मासिक २४ हजार भुक्तानी गरेर वार्षिक ३ लाख २२/ हजार ३ लाख २२ हजार गरी दुवै जनाका शोकीय सचिवका लागि ६ लाख ४४ हजार अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष अमरबहादुर कुँवर नेकपा एमालेबाट र उपाध्यक्ष मञ्जु महरा (बोहरा) नेपाली कांग्रेसबाट निर्वाचित हुन्। विगतका वर्षहरूमा जस्तै यसपटक पनि सूर्नया गाउँपालिकामा व्यापक आर्थिक अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले स्पष्ट औल्याएको छ।
लाखौंको बेरुजु एकातिर छ भने लाखौंको रकम अनियमितता गरेर पनि जनताको सेवा गर्न निर्वाचित जनप्रतिनिधिहरूले जनताप्रति जिम्मेवार नभएको यी यावत गतिविधिहरूले देखाइरहेको छ।
बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरको नेतृत्वमा आएपछि सबै क्षेत्रमा असफलता मात्रै प्राप्त भएको स्थानीयहरू बताउँछन्। शिक्षामा कमजोर नतिजा, खेलकुदमा न्यून सहभागिता , कर्लमचारी व्यवस्थापन नहुनु, प्रमुख प्रशासकीय अधिकृत महिना दिनमै सरुवा हुनु गायत भौतिक विकासमा पनि खासै प्रगति केही पनि नभएको स्थानीयहरूले गुनासो गरेका छन् ।
यो सँगै स्थानीयका समस्यालाई पनि नजरअन्दाज गर्दै आएको आरोप स्थानीयहरुले लगाएका छन्। अध्यक्ष कुँवरलाई असफल नेतृत्वको संज्ञा दिँदै स्थानीयहरूले नैतिकता नभएपछि जेसुकै पनि गर्न मिल्ने रहेछ भनेका छन्।
सही ढङ्गले स्थानीय सरकार सञ्चालन गर्नुपर्छ भन्दै युवाहरूले यस अघि विविध मागहरु राखेर ४० दिनसम्म गाउँपालिकामा तालाबन्दी समेत गरेका थिए। तर अध्यक्ष कुँवरले यी सबै विषयलाई खासै चासो नदिएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको नतिजाले पनि स्पष्ट पारेको छ।