धनगढी, २३ जेठ / कैलाली उद्योग वाणिज्य संघले सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश अन्तर्गत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको सहकार्यमा “सदस्य उद्योग तथा व्यवसायहरूमा औद्योगिक प्रशिक्षार्थी व्यवस्थापन कार्यविधि, २०८३” सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संघका सदस्य उद्योगी–व्यवसायी, सिटिइभिटीका प्रतिनिधि, परियोजनाका पदाधिकारी तथा सरोकारवालाहरूबीच कार्यविधिको मस्यौदामाथि छलफल, सुझाव संकलन र आवश्यक संशोधनका विषयमा विचार–विमर्श गरिएको थियो।
परियोजनाका प्राविधिक संयोजक विकास घजुले शिक्षालयमा अध्ययनरत तथा विभिन्न सीप तालिममा आबद्ध प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै उद्योगमा आधारित प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्न कार्यविधि तयार गरिएको बताए। उनका अनुसार निश्चित समय शिक्षालयमा अध्ययन गरेपछि विद्यार्थीलाई उद्योगमा आधारित सिकाइ आवश्यक हुने भएकाले सुरक्षित सिकाइ वातावरण निर्माण, उद्योग–शिक्षालयबीच समन्वय तथा प्रक्रियाको दस्तावेजीकरण गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य रहेको छ।
प्रशिक्षार्थी, उद्योग र शिक्षालयबीच त्रिपक्षीय सम्झौता हुने व्यवस्था रहेकोमा कार्यविधिले नियमानुसार उद्योग/व्यवसायहरूले प्रशिक्षार्थीलाई आवश्यक सेवा–सुविधा, सुरक्षित कार्य वातावरण, व्यक्तिगत सुरक्षा सामग्री तथा सिकाइका लागि प्रशिक्षकको व्यवस्था गर्न निर्देशित गर्दछ । कुनै समस्या उत्पन्न भएमा कैलाली उद्योग वाणिज्य संघसँग समन्वय गरी समाधान खोजिने व्यवस्था पनि गरिएको छ ।
संघले जारी गरेको कार्यविधिले कार्यस्थलमा आधारित सिकाइ, अप्रेन्टिससिप तथा औद्योगिक प्रशिक्षार्थी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखेको छ। यसले बेरोजगार युवालाई सीप, तालिम र रोजगारीसँग जोड्नुका साथै उद्योग तथा व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने अपेक्षा गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले कार्यविधिलाई अन्तिम रूप दिन योगदान गर्ने स्रोतव्यक्ति प्रेमराज भट्ट, इन्स्योर/हेल्भेटास परियोजना, संघका कार्यकारी अधिकृत तथा सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गरे। उनले कार्यविधि औपचारिक रूपमा कार्यान्वयनमा आएपछि उद्योगी, रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी समन्वय हुने तथा रोजगार मेला लगायतका गतिविधि सञ्चालन गरी महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा कार्यविधिको प्रस्तुतीकरण गर्दै स्रोतव्यक्ति प्रेमराज भट्टले दक्ष जनशक्ति विकास, वितरण र व्यवस्थापनमा यसले महत्वपूर्ण सहयोग पुर्याउने बताए। उनले यो मोडल सफल भएमा अन्य संघ र प्रदेशका लागि समेत उदाहरणीय बन्न सक्ने उल्लेख गर्दै कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।