धनगढी, २२ जेठ / विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित श्री कञ्चन माध्यमिक विद्यालयले “एक बालबालिका, एक रुख” नामक वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ। सोही अवसरमा वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी वक्तृत्वकला कार्यक्रम पनि आयोजना गरिएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ र वल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा विद्यालयको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृष्णपुर नगरपालिकाका कार्यकारी अधिकृत, वडा अध्यक्ष, वल्र्डभिजन पश्चिम कार्यालयका जीविकोपार्जन कार्यक्रम प्रमुखलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रम संयोजक रामेश्वर जैरुका अनुसार वल्र्डभिजन इन्टरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित यस अभियानअन्तर्गत कृष्णपुरका २५ सय बालबालिकालाई फलफूलका बिरुवा वितरण गरी वृक्षारोपण गर्ने वृहत योजना रहेको छ।
जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिका चुनौती सामना गर्न बालबालिकालाई अग्रसर बनाउने, वातावरण संरक्षणप्रति उनीहरूको सक्रियता अभिवृद्धि गर्ने र सकारात्मक व्यवहार विकास गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वल्र्डभिजनका प्रतिनिधि सौगात शर्मा न्यौपानेले बताए।
कार्यक्रममा सहभागी स्थानीय सरकार तथा मन्त्रालयका प्रतिनिधिहरूले यो अभियानलाई वातावरणमैत्री र सकारात्मक पहलका रूपमा मूल्यांकन गर्दै थप विस्तारका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी, विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमा विभिन्न ५–७ वटा फलफूलका बिरुवा रोपेका थिए। वृक्षारोपणपछि आयोजित वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले “वातावरण संरक्षणमा हाम्रो भूमिका” विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीहरूलाई आयोजक संस्थाको तर्फबाट स्टेशनरी सामग्री पुरस्कारस्वरूप वितरण गरिएको थियो।