धनगढी, २१ जेठ / कैलालीको टीकापुरका युवाव्यवसायी पदम सापकोटा र उनकी पत्नी जमुना कुमारी विष्टले क्षतिपूर्ति माग गर्दै तथा किर्ते जालसाजीसम्बन्धी उजुरी ज्ञवालीविरुद्ध दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कोमल ज्ञवालीमाथि कैलाली जिल्ला अदालतमा दुई मुद्दा दायर भएका छन्। एउटा मुद्दामा ज्ञवालीलाई क्षतिपूर्ति भराउन आदेश भइसकेको छ भने अर्को मुद्दा विचाराधीन छ।
कैलालीको टीकापुरका युवा व्यवसायी पदम सापकोटा र उनकी पत्नी जमुना कुमारी विष्टले क्षतिपूर्ति माग गर्दै तथा किर्ते जालसाजीसम्बन्धी उजुरी ज्ञवालीविरुद्ध दिएका हुन्।
सांसद ज्ञवाली र सापकोटाबीच टीकापुर–२, सीतापुरस्थित २ बिघा १४ कठ्ठा जग्गा कृषि आयोजना सञ्चालनका लागि २०७५ वैशाख २० गते लिजमा दिने सम्झौता भएको थियो। उक्त सम्झौता २०७६ वैशाखदेखि २०८८ चैत मसान्तसम्म लागू हुने व्यवस्था थियो। सम्झौताअनुसार कृषि, पशुपालन, फलफूल खेती तथा वृक्षारोपणलगायतका गतिविधि सञ्चालन गर्ने तथा जग्गाधनीलाई वार्षिक रूपमा प्रति बिघा २५ क्विन्टल गहुँ वा सो बराबरको रकम उपलब्ध गराउने सहमति भएको थियो।
तर, एकाएक ज्ञवालीले २०८१ जेठ २ गते एकलौटी रूपमा सम्झौता तोडेको भन्दै सापकोटालाई पत्र बुझाएकी थिइन्। त्यसविरुद्ध जिल्ला अदालत पुगेका सापकोटाले अदालतले आफूलाई क्षतिपूर्ति दिलाउने आदेश दिएको बताएका छन्।
‘मैले १२ वर्षका लागि गरेको लिज सम्झौता एकतर्फी रूपमा तोडियो। व्यवसाय सञ्चालन गरिरहेका बेला मलाई अन्यायपूर्वक हटाइयो। त्यसविरुद्ध मैले कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थिएँ। अदालतले मेरो दाबीलाई स्वीकार गर्दै क्षतिपूर्ति पाउने फैसला गरेको छ। यसका लागि सम्मानित अदालतप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ सापकोटाले भने।
२०८१ पुसमा कोमल ज्ञवालीलाई विपक्षी बनाएर दायर गरिएको रिटमा न्यायाधीश गोकुलप्रसाद निरौलाको आदेशमा दाबी पुग्ने उल्लेख गरिएको छ।
‘लिजमा काम गर्ने क्रममा बीचमै सम्झौता तोड्ने, हटाउने वा धोका दिने घटना धेरै ठाउँमा सुनिन्छन्। कतिपय किसान तथा व्यवसायी अन्याय सहेर बस्ने गरेका छन्। तर आफ्नो अधिकार र क्षतिपूर्तिका लागि न्यायिक निकायमा गएर कानुनी लडाइँ लड्न आवश्यक छ, ’ उनले भने ‘मैले दाबी गरेको क्षतिपूर्तिमा दाबी पुग्ने बताइएको छ। ’
सापकोटाले अदालतको पूर्ण पाठ नआउँदै सांसद ज्ञवालीले आफ्नो संरचनमा ताला लगाएक कब्जा गरेको समेत आरोप लगाएका छन् ।
उता सांसद ज्ञवालीले पनि सापकोटाविरुद्ध क्षतिपूर्ति माग गर्दै रिट दायर गरेको र त्यसमा पनि सापकोटालाई क्षतिपूर्ति गराउने आदेश भएको बताइन्।
‘अझै यसको पूर्णपाठ आइसकेको छैन। तर उहाँले दाबी गर्नुभएको रकम र मैले दाबी गरेको रकमबीचबाट लेनदेन हुने देखिएको छ, ’ उनले भनिन्। ‘सबै विषय पूर्णपाठ आएपछि थाहा हुन्छ। ’
क्षतिपूर्तिको मुद्दा जारी रहेकै बेला सापकोटाकी श्रीमती जमुना विष्टले सांसद ज्ञवालीसहित चार जनाविरुद्ध रिट दायर गरेकी छन्। उनले आफूलाई कुनै जानकारी नगराई सेयर किनबेच गरिएको आरोप लगाएकी छन्।
‘मेरो नामको सेयरलाई मलाई जानकारी नगराई विपक्षीहरूले आपसी मिलेमतोमा २०८० माघ ५ गते मेरो अनुपस्थितिमा मेरो समेत सेयर खरिद–बिक्री गरी माघ २० गते सञ्चालक समितिको बैठक र माघ २२ गते विशेष साधारण सभाबाट मेरो हस्ताक्षर र उपस्थितिबिना विभिन्न निर्णय गरेका छन्, ’ उनले दाबी गरेकी छन्।
विष्टले वैशाख २४ गते आफू वडाकै काममा रहेका बेला काठमाडौंस्थित कम्पनीको कार्यालयबाट आफ्नो सेयर राजीनामा गराइएको आरोप लगाएकी छन्। हाल यो विषय अदालतमा विचाराधीन रहेको विष्टले बताइन्।
‘म त्यो दिन वडाकै काममा थिएँ, ’ उनले भनिन् ‘जुन दिन म वडामा थिएँ, त्यही दिन काठमाडौं गएर सेयरबाट कसरी राजीनामा गर्न सक्छु? त्यो मेरो हस्ताक्षर होइन। मेरो हस्ताक्षर किर्ते गरेर सेयर किनबेच गरिएको छ।’
यस विषयमा सांसद ज्ञवालीले भने सबै प्रक्रिया पूरा गरेर काम गरिएको दाबी गरेकी छन्।