धनगढी, १८ जेठ / सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (एन-फेकोफन) को चौथो स्थापना दिवसको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित जनशक्ति सामुदायिक वन क्षेत्रमा १५१ बिरुवा रोपिएको छ। “वनको दीगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता, वनकर्मी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख डा. रामबिचारी ठाकुरले वृक्षरोपणलाई वातावरण संरक्षण र भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोडिएको अभियानका रूपमा लिनुपर्ने बताए। उनले सामुदायिक वन व्यवस्थापन नेपालको सफल अभ्यास भएको उल्लेख गर्दै वन संरक्षणमा स्थानीय समुदायको भूमिकाको प्रशंसा गरे।
एन-फेकोफनका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले स्थापना दिवसलाई उत्सवभन्दा पनि वन संरक्षण र सामुदायिक अधिकार सुदृढीकरणको अवसरका रूपमा मनाइएको बताए। उनले हरित अर्थतन्त्र, वातावरणीय न्याय र स्थानीय जीविकोपार्जनसँग वन अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा एसीओफनका महासचिव यादवप्रसाद भण्डारी, प्रदेश अध्यक्ष श्याम बिष्ट तथा प्रदेश महासचिव पुनाराम चौधरीले जलवायु परिवर्तन न्यूनीकरण, वन संरक्षण तथा स्थानीय समृद्धिमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको बताए।
सहभागीहरूले वृक्षरोपणलाई एकदिने कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सामूहिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।