धनगढी, १७ जेठ / सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।
बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत स्वीकृत गर्दै तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। प्रदेश सभाको बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ, जहाँ प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसअघि शुक्रबार बसेको प्रदेश विकास परिषद्को बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको थियो। प्रदेश नीति तथा योजना आयोगले तयार गरेको उक्त योजना पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, संघीय सरकारको सोह्रौँ योजना तथा विभिन्न सरोकारवालासँगको परामर्शका आधारमा निर्माण गरिएको हो।
“समुन्नत, सुन्दर सुदूरपश्चिम” भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको योजनाले उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।
योजनामा कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने, यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तार गर्ने लक्ष्य लिइएको छ। साथै सामाजिक क्षेत्रमा समान पहुँच, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई पनि प्राथमिकतामा समेटिएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी तथा रोजगारमुखी उच्च शिक्षा, छात्रवृत्ति, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान तथा सीप विकासमा विशेष जोड दिइएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन र समावेशी आर्थिक रूपान्तरणको मार्गदर्शक दस्तावेजका रूपमा अघि बढाउने बताएको छ।