धनगढी, १७ जेठ / यस वर्षको मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी, पहिरो र डुबानका कारण प्रदेशभरका ७ हजार ६०३ घरधुरी प्रत्यक्ष प्रभावित हुनसक्ने देखिएको हो।
मन्त्रालयका विपद् सम्पर्क व्यक्ति जनक धामीका अनुसार मनसुनजन्य विपद्बाट प्रदेशका ३३ हजार २२७ नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकार तथा सरोकारवाला निकायहरूले पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयनलाई तीव्रता दिएका छन्।
“विपद्को जोखिममा रहेका स्थान र घरधुरीको पहिचान गरिसकेका छौं। सोही आधारमा पूर्वतयारीका काम अघि बढिरहेका छन् र छिट्टै कार्यविधि बनाएर जिम्मेवारी बाँडफाँट गरिनेछ,” धामीले बताए। मन्त्रालयका अनुसार भौगोलिक अवस्थाका कारण प्रदेशका विभिन्न जिल्लामा विपद्को स्वरूप फरक-फरक रहनेछ। तराईका जिल्ला कैलाली र कञ्चनपुर यस वर्ष सबैभन्दा बढी जोखिममा रहेको आकलन गरिएको छ। ती क्षेत्रमा नदी कटान, बाढी र डुबान मुख्य चुनौतीका रूपमा देखिएका छन्।
यता पहाडी तथा हिमाली जिल्लाहरूमा बाढीको जोखिम तुलनात्मक रूपमा कम भए पनि पहिरोको जोखिम उच्च रहेको मन्त्रालयको निष्कर्ष छ। विगतमा जथाभावी सडक निर्माण र कमजोर भू-बनोटका कारण सामान्य वर्षामै ठूलो क्षति हुने गरेको अनुभवका आधारमा यस वर्ष पनि उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।
मन्त्रालयले सार्वजनिक गरेको अनुमानित तथ्यांकअनुसार कञ्चनपुरमा ७ हजार १३२, कैलालीमा ६ हजार १९५, डोटीमा ४ हजार ८२०, बाजुरामा ३ हजार ७७६, बैतडीमा ३ हजार ३६२, डडेल्धुरामा ३ हजार १०८, बझाङमा १ हजार ७७४, अछाममा १ हजार ६०२ र दार्चुलामा १ हजार ४६७ नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
मनसुन सुरु हुनुअघि नै सम्भावित क्षति न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले विशेष कार्यदल गठन गरी तयारीलाई व्यवस्थित बनाएको जनाएको छ। कार्यदलले विपद् व्यवस्थापन तथा प्रतिकार्यसम्बन्धी विस्तृत मस्यौदा तयार गरिसकेको र मनसुन पूर्ण रूपमा सक्रिय हुनुअघि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।