धनगढी, १६ जेठ / नियमित रूपमा संसदीय दलको बैठकमा अनुपस्थित नभएको तथा पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना सांसदसँग स्पष्टीकरण मागेको छ।
सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले साविकको नागरिक उन्मुक्ति पार्टीबाट एकता भई नेकपामा आएका सांसद रामेश्वर चौधरी र घनश्याम चौधरीलाई शुक्रबार लिखित स्पष्टीकरण सोधेका हुन्। उनीहरूलाई पठाइएको पत्रमा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको तथा विपक्षी दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको आरोप लगाइएको छ।
त्यसैगरी, प्रदेशसभा संसदीय दल समायोजन प्रक्रियामा असहयोग गरेको, औपचारिक बैठकहरूको जानकारी हुँदाहुँदै पनि निरन्तर अनुपस्थित रहने गरेको विषय पनि पत्रमा उल्लेख गरिएको छ। यी कार्यहरू दलको विधान र अनुशासनको उल्लंघन भएको निष्कर्ष निकाल्दै संसदीय दलले सांसदद्वयलाई कडा चेतावनी दिएको छ।
संसदीय दलका नेता भट्टले पत्र प्राप्त भएको मितिले ४८ घण्टाभित्र स्वयं उपस्थित भई तथ्यपरक, स्पष्ट र चित्तबुझ्दो लिखित जवाफ पेश गर्न निर्देशन दिएका छन्। समयमै स्पष्टीकरण नआएमा पार्टी विधानअनुसार थप कारबाही अघि बढ्न सक्ने संकेतसमेत दिइएको छ।