प्रिय गणतन्त्र,
आज तिमी अठारौँ वर्षमा प्रवेश गर्दैछौ।
तिमीलाई हार्दिक बधाई तथा शुभकामना।
तर, तिम्रो यो जवानीको यात्रामा
तिम्रो काँध चढ्न अनेक अवसरवादीहरू आउन सक्छन्।
बिन्ती छ -तिमी नडगमगाऊ।
यदि तिमी डगमगायौ भने,
हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ।
जब तिमी नवजात थियौ,
तिम्रो स्याहार–सुसार गर्ने नाममा धेरैले
तिम्रा सपना बेचेर आफ्ना घर भरे।
तिम्रो सुरक्षा गर्ने बहानामा
निर्दोष जनतालाई आँसु र पीडा दिए।
तिमी जन्मिन जति दुःख र बलिदान भएको थियो,
त्यो इतिहास अझै रगतको गन्ध बोकेर बाँचिरहेको छ।
तिम्रो बाल्यकालमा
तिमीलाई हुर्काउन र राम्रो बनाउन
जनताले आफ्ना रहरहरू मारे, धेरै दुःख सहे।
तर केही अवसरवादी, केही दलाल
र केही भ्रष्टाचारीहरूले मात्रै
मोज, मस्ती र ऐसआरामको जीवन जिए।
जनताले परिवर्तन खोजे,
तर परिवर्तनको नाममा
अनुहार मात्रै फेरिए, व्यवहार फेरिएन।
आज पनि गरिबका झुपडीमा भोक निदाउँछ,
बेरोजगार युवाका सपनाहरू
विदेशी भूमिमा पैसासँग साटिँदैछन्।
आमाका आँखामा छोराको प्रतीक्षा
अझै बाँकी छ।
प्रिय गणतन्त्र,
तिमीलाई दोष दिनुअघि
तिमीलाई चलाउने हातहरू कति सफा छन् भन्ने हेर्न जरुरी छ।
किनकि तिमी केवल एउटा व्यवस्था हौ,
तिम्रो मूल्य त तिमीलाई चलाउने मानिसहरूले निर्धारण गर्छन्।
यदि तिम्रो नाममा फेरि पनि भ्रष्टाचार हुन्छ,
जनताको आवाज दबाइन्छ,
गरिबको भाग खोसिन्छ भने
तिम्रो अस्तित्वमाथि प्रश्न उठिरहनेछ।
तर अझै पनि आशा मरेको छैन।
किनकि जनताको चेतना जिउँदो छ,
सत्य बोल्ने आवाजहरू अझै बाँकी छन्।
एक दिन तिमी साँच्चै जनताको बन्नेछौ,
जहाँ नेताभन्दा देश ठूलो हुनेछ,
पार्टीभन्दा जनता ठूलो हुनेछ,
र सत्ताभन्दा मानवता ठूलो हुनेछ।
त्यो दिन
साँचो अर्थमा गौरवको इतिहास बन्नेछ।
✍️ बिनोद बिष्ट, सन्देश
