धनगढी, १३ जेठ / कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल मुख्यमन्त्री कमल बहादुर शाहले भोलि उद्घाटनलाई गर्ने भएका छन्।
अस्पताल सञ्चालन र उद्घाटनको विषयलाई लिएर यसअघि देखि नै विवाद हुँदै आएको थियो। लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले अस्पताल सञ्चालन प्रक्रिया र स्वामित्वका विषयमा असहमति जनाउँदै आएकी थिइन्। मेयर शाहीले यस विषयलाई लिएर सर्मुवोच्चमा मुद्दा समेत हालेकी थिइन् तर सर्वोच्चले अघि नै प्रदेश सरकारको पक्षमा सुनवाई गरिसकेको छ।
तर उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा एक स्थानीय व्यक्तिले सामाजिक सञ्जालमार्फत भावुक अपिल सार्वजनिक गर्दै नगरपालिकाले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। उक्त स्टाटसमा नगरपालिकाले अस्पताल परिसरभित्र दमकल र डोजर राखेको उल्लेख गर्दै त्यसको विरोध गरिएको छ।
यता, विवादकै बीच मेयर शाही अजरबैजान भ्रमणमा रहेको जानकारी सार्वजनिक भएको छ। मेयर शाहीले कसैलाई पनि कार्यवाह जिम्मेवारी नदिई विदेश भ्रमण गएको बुझिएको छ।
स्रोतका अनुसार सम्भावित विरोध र अवरोधलाई मध्यनजर गर्दै मुख्यमन्त्री शाह बाक्लो सुरक्षा व्यवस्थासहित लम्कीचुहा पुग्ने तयारीमा छन्। प्रदेश सरकार भने अस्पताल जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सञ्चालनमा ढिलाइ गर्न नहुने पक्षमा देखिएको छ।
लम्कीचुहा प्रादेशिक अस्पताल लामो समयदेखि सञ्चालन र व्यवस्थापनको विवादमा पर्दै आएको छ। प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभाव हुँदा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। स्थानीय नागरिक भने अस्पताल छिटो सञ्चालनमा आओस् भन्ने पक्षमा छन्।
भोलिको उद्घाटन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ वा फेरि विवाद चर्किन्छ भन्ने चासो अहिले स्थानीयस्तरमा बढेको छ।