धनगढी, १२ जेठ / “सुदूरपश्चिम प्रदेश युवा सम्मेलन-२०२६” बाट उठाइएका युवाका साझा सवाल, माग तथा प्रतिबद्धता समेटिएको ६ बुँदे घोषणापत्र आज सुदूरपश्चिम प्रदेश सरकारलाई बुझाइएको छ। युवा अभियान सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक टेक साउदका अनुसार सम्मेलनबाट संकलित सुझाव तथा माग प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गराउनका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई औपचारिक रूपमा बुझाइएको हो।
धनगढीमा सम्पन्न दुई दिने “सुदूरपश्चिम प्रदेश युवा सम्मेलन–२०२६” बाट तयार गरिएको घोषणापत्रमा डिजिटल सुरक्षा र जिम्मेवार प्रविधि प्रयोग, शिक्षा तथा समावेशी पहुँच, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, आर्थिक अवसर तथा रोजगारी, जलवायु न्याय र वातावरण तथा सहभागिता र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
युवा संयोजक साउदले सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट सहभागी युवाहरूले आफ्ना अनुभव, समस्या, सुझाव र अपेक्षाहरू प्रस्तुत गरेको जानकारी दिए। ती सबै विषयलाई समेटेर तयार गरिएको घोषणापत्र प्रदेश सरकारसमक्ष बुझाइएको उनले बताए। “सम्मेलन केवल छलफलमा सीमित नभई युवाका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यसहित आयोजना गरिएको हो,” उनले भने, “युवाका आवाज अब सरकारी नीति तथा कार्यक्रममा प्रतिविम्बित हुनुपर्छ भन्ने हाम्रो मुख्य अपेक्षा हो।”
यसअघि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले युवाका आवाज, योजना तथा मागलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको बताएका थिए। उनले अहिले प्रदेश सरकार नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेको उल्लेख गर्दै सम्मेलनबाट आउने सुझावलाई विशेष प्राथमिकताका साथ समेटिने बताएका थिए।
घोषणापत्र बुझ्दै मुख्यमन्त्री शाहले युवाका मागहरूलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।
घोषणापत्र बुझाउन गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव नरेश प्रसाद ओझा, प्रदेश संयोजक गोकुल खड्का, अभियानका प्रदेश संयोजक टेक साउद , प्रदेश सदस्य बम बहादुर बिक, प्रदेश सदस्य रञ्जना डगौरा, युवा अभियन्ता सन्तोष रावल लगायतका युवाहरूको उपस्थिति रहेको थियो।