यो सहर, सहर होइन
यो त चिहान हो, मसानघाट हो,
जहाँ लाखौँ मानिसका
करोडौँ सपनाहरू
हरेक पल, हरेक दिन, हरक्षण
निराशा, विवशता र बाध्यताको
चिसो चितामा जलिरहन्छन्।धुवाँ बनेर उडिरहेका छन् रहरहरू,
राख बनेर बिलाइरहेका छन् इच्छाहरू,
अनि भीडको बीचमा उभिएका मानिसहरू
भित्रभित्रै
मरेका आत्मा बोकेर बाँचेका छन्।यो सहर, सहर होइन
यो त मान्छे बेचबिखन गर्ने कारखाना हो,
जहाँ हरेक बिहान
हजारौँ युवाहरू
आफ्नै सपनाको घाँटी रेटेर
विदेशी आकाशतिर उड्न बाध्य छन्।कसैले आमाको काख छोड्छ,
कसैले प्रेमिकाको हात,
कसैले बुबाको काँध,
अनि कसैले आफ्नै पहिचान।
र अन्त्यमा
पसिनासँग पैसा साटेर
आँसुमा जिन्दगी गन्न सिक्छन्।यो सहर, सहर होइन
यो त पैसाको कारोबार गर्ने भट्टी हो,
जहाँ
मान्छेको मूल्य नोटले तोकिन्छ,
र सम्बन्धको तौल
धनको तराजुमा जोखिन्छ।पैसा हुनेसँग यहाँ
महलका उज्याला रात छन्,
शान छन्, सम्मान छन्,
मान्छेहरूको भीड छ।
तर पैसा नहुनेसँग
भोकले चिच्याएको पेट छ,
निदाउन नसक्ने सडक छ,
र सिरानी बन्न नसकेको
दुई थोपा आँसु मात्रै।यो सहर, सहर होइन
मानवता हराएको दानवीय महल हो,
जहाँ आत्माभन्दा ठूलो पैसा हुन्छ,
र मायाभन्दा महँगो स्वार्थ।यहाँ
आफन्त पनि पैसासँग नजिकिन्छन्,
र गरिबीले आफ्नै मान्छे टाढिन्छन्।
यहाँ हाँसो किनबेच हुन्छ,
विश्वास लिलाम हुन्छ,
अनि कहिलेकाहीँ
मान्छेले आफ्नै मन बेचेर
बाँच्न सिक्नुपर्छ।यो सहर, सहर होइन।।।
यो त यस्तो जंगल हो
जहाँ सिंहले होइन,
स्वार्थले मान्छे खान्छ।अनि हरेक साँझ
बत्तीहरूको झिलिमिलीभित्र
कसैको सपना मरिरहेको हुन्छ,
कसैको आत्मा रोइरहेको हुन्छ,
तर यो सहरलाई
कसैको पीडासँग मतलब हुँदैन।
✍️ बिनोद बिष्ट ,सन्देश
