धनगढी २६ बैशाख/सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेश संसदीय दलसँग महत्वपूर्ण छलफल गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेको उपस्थितिमा भएको बैठकमा प्रदेश सरकारको आगामी रणनीति, सत्ता समीकरण तथा संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल भएको बताइएको छ। छलफलमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाह लगायत प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको चर्चा तीव्र भइरहेका बेला कांग्रेस नेतृत्व र प्रदेश संसदीय दलबीच भएको यो भेटघाटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा प्रदेश सरकारको स्थायित्व, आगामी राजनीतिक रणनीति र पार्टी संगठनलाई थप मजबुत बनाउने विषयमा समेत धारणा आदानप्रदान भएको स्रोतले जनाएको छ।