मान्छे कहिलेकाहीँ किताबबाट भन्दा यात्राबाट धेरै सिक्छ। अनि यात्रा पनि त्यस्तो, जहाँ बाटो मात्र होइन, मन र दृष्टिकोण पनि बदलिन्छ। कैलाली बहुमुखी क्याम्पस, मानविकी संकाय सातौँ सेमेस्टरमा अध्ययनरत हामी विद्यार्थीहरूको एउटा यस्तै सपना थियो । नेपालको धर्म, संस्कृति, भाषा र भूगोललाई आफ्नै आँखाले बुझ्ने। यही उद्देश्य बोकेर २०८३ साल वैशाख ११ गते साँझ करिब ६ बजे धनगढीबाट हाम्रो शैक्षिक यात्रा सुरु भयो।
बसको झ्यालबाट बाहिर हेर्दै गर्दा रातको अँध्यारोमा पनि मनभित्र उज्यालो थियो। नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ कथा बटुल्ने उत्साहले कोरातभरको यात्रापछि १२ गते दिउँसो करिब १ बजे हामी पोखरा पुग्यौँ। केहीबेर आराम र भोजनपछि हामी लाग्यौँ पोखराको पुम्दीकोटतर्फ, जहाँ विशाल शिव-पार्वतीको मूर्ति आकाश छुने जस्तो लाग्थ्यो। त्यहाँबाट देखिने पोखराको दृश्यले मन नै चंगा बनायो। तर प्रकृतिको आफ्नै योजना थियो , अचानक परेको वर्षाले हामीलाई फेरि छिट्टै बास गरिरहेको पोखराको होटेल बोस्टनमा फर्कायो।
साँझको भोजनपछि त्यही रात हामीले अर्को ठूलो यात्राको तयारी गर्यौँ। हाम्रो शैक्षिक भ्रमणको मुख्य केन्द्रबिन्दु समेत थियो, त्यो हो मुक्तिनाथको यात्रा !
१३ गते बिहान ३ बजे, निद्रालाई पर सार्दै हामी उठ्यौँ। यात्रा सुरु भयो, पहाडका घुमाउरा बाटा, कालीगण्डकीको किनार, अनि विस्तारै बदलिँदै गएको भूगोल। करिब ६ घण्टाको यात्रापछि हामी पुग्यौँ मुक्तिनाथ । आस्था र अध्यात्मको संगम, त्यहाँ पुग्दा लाग्यो, यो केवल यात्रा होइन, आत्माको शान्ति खोज्ने एउटा प्रयास हो।
मुक्तिनाथ दर्शनपछि हामी सबै लामो यात्राको थकान र १२ गते साँझपछि खाना नास्ता केही नखाएका हुनाले पनि हामी सबै भोकाइ सकेका थियौँ। त्यसैले हतार हतार सबै बस बिसौनिमा आइ पुग्यौँ । सबै साथीहरू बस बिसाउनेसम्म आइपुग्दै गर्दा दुईजना साथीहरू भने मुस्ताङको हावापानीको प्रभावमा परेछन्। जसलाई हिँड्नै गाह्रो भएर त्यही पछाडि छुटेछन्। भोकाएका साथीहरूले बसमा कुर्न नसक्दा सबै ती साथीहरुप्रति रिसाएका थिए। तर पनि हामीसँगै गएका हुनाले ती दुईलाई पनि हामीले कुरी रह्यो । लामो समय हुँदासमेत नआएपछि लगातारको फोन कल गर्दै म र साथी दिपक ती दुईजनाको खोजीमा फेरि मुक्तिनाथ मन्दिर भएकै दिशातर्फ अगाडि बढ्यो १० मिनेट पैदल यात्रा गरिसकेपछि दुवै जना थकित अवस्थामा दया लाग्ने गरि देखा परे। यी दुईजना थिए । (करिश्मा र किरण)
दिपकले किरणको र मैले करिश्माको हाते झोला बोकेर छिटो- छिटो बस बिसाउनेसम्म पुगायौ र मुक्तिनाथबाट हामी सबै फर्कियौं।
केही तल पुगेपछि खाना खान एक होटेलमा रोक्यौ। खाना खाइसकेपछि करिब २ बजे त्यहाँबाट फेरि फर्कियौँ। र पुग्यौं हिमाल पारिको जिल्ला मुस्ताङको धेरै हावा चल्ने ठाउँ सेल्फी डाँडा- जहाँ हावाले मात्र होइन, रमाइलोले पनि हामीलाई छुन्थ्यो। त्यसपछि बिस्तारै तल झर्दै गर्दा कला, कौशल, संस्कृति, प्रकृतिले भरिएको मार्फा गाउँ । सफा, सुन्दर र परम्पराले भरिएको, त्यहाँको स्थानीय जीवनशैलीले हामीलाई धेरै कुरा सिकायो। मार्फाको अवलोकनपछि पोखराको लागि फर्किँदै गर्दा नेपालकै ठुलो रुप्से झरनाको गर्जनले प्रकृतिको शक्ति देखायो।
त्यो दिन करिब राति ११ बजे पोखरा पुग्दा सम्म शरीर मात्रै थाकेको थियो, तर मन भने सबैको सन्तुष्ट र भरिपूर्ण भएको थियो।
१४ गते बिहानै हामी पुग्यौँ विन्धवासिनी मन्दिर। त्यहाँको शान्त वातावरणले दिनको सुरुवात नै सकारात्मक बनायो। त्यसपछि डेभिड फल्स, गुप्तेश्वर महादेव र फेवाताल हरेक स्थानले आफ्नै कथा सुनायो। तालमा हामीले डुङ्गा सवार गर्दै फेवा तालको बीचमा रहेको ब्राह मन्दिरको दर्शन गर्यौं। पोखराको मौसम एकैछिनमा परिवर्तन भयो। एक घण्टाको लागि डुङ्गामा रमाइलो गर्ने भनी गएका थियौँ। तर पानी पर्न थालेपछि एकैछिनमा फर्कियौं र केहीबेर फेवातालको आनन्द लिएपछि पोखरा बजारको अवलोकन गर्दै हामी बसेकै होटलमा फर्कियौं। हामी सबैजना बसबाट फर्कियौ भने साथी हरि , सागर र दिपक भने हिँड्दै हिँड्दै बजारको अवलोकन गर्दै फर्किए। सबैजना होटलमा पुगिसकेपछि हामीले हाम्रो सुदूरपश्चिमको सु-प्रसिद्ध लोकगीत देउडा नृत्य प्रस्तुत गर्यौँ। एकै छिन त हामी वरपरको पोखराको वातावरण सुदूरपश्चिम मय भयो । हामीले मादलको तालमा गाउँदै गरेका लोकगीतहरूमा नाच्न विदेशी पर्यटकहरू पनि लालायित भएर आए । त्यस दिन हामीले धेरै रमाइलो गर्यौं। होटेल सञ्चालकले समेत हामी सबैलाई अगाडिका दिनहरूभन्दा ज्यादै माया देखाए ।
१५ गते बिहानै पोखराबाट फर्किँयो । फर्किदै गर्दा तीन दिन मात्रै बसेको त्यो होटेल बोस्टनका सञ्चालकले ज्यादै प्रेम देखाएर बिदा गरे। त्यस दिन हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो। पाल्पामा पुगेर करिब १२ बजे खाना खायौँ । हाम्रो योजना थियो पाल्पाको प्रसिद्ध ठाउँ रानीमहल घुम्ने तर हामीसँग भएको सवारी साधन उक्त ठाउँसम्म नपुग्ने र रानीमहल हामी भएको ठाउँबाट धेरै लामो दुरीमा पर्ने भएकाले जान असमर्थ भयो। बाटोमा जे राम्रो देखिन्छ। त्यहीको अवलोकन गर्ने भन्दै त्यहाँबाट लुम्बिनी पुग्ने गरी यात्रा सुरु गर्यौ ।
करिब ५ बजे बुटवल पुगेपछि बुटवलको मणिमुकुन्द सेन उद्यानको अवलोकन गर्ने भनी रोकियौं। मणिमुकुन्द सेन उद्यान भित्र संरक्षणमा राखिएका जङ्गली जनावरहरू चितुवा, दुम्सी, खरायो अजिङ्गर , हिरण , मृग , अस्ट्रिज, परेवा लगायत विभिन्न अन्य पशुपन्छीसँग केही समय बिताएर हामी अघि बढ्यौँ। विहान देखिको यात्राको थकानले शरीर भारी थियो, त्यसैले लुम्बिनी नजिकैको होटलमा विश्राम गर्यौँ। त्यस दिन हामी बीच केही कुरामा असमझदारी समेत भएर एक छिन हामी बसेको कोठाको वतावरण अशान्त बनेको थियो। तर हाम्रा अभिभावक भनेर गएका प्रशिक्षक उमेश बिष्टले एकैछिनमा सबै विषयको समाधान गरे ।
१६ गते बिहान, बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा अवलोकन गर्नेगरी तयारी गरेर भित्र लाग्यौँ। हाम्रो ३७ जनाको समूहबाट पाँचजना बाहेक हामी सबै सँगै गयौँ। भने ५ जना साथीहरू छुट्टै तरिकाले गए । हामी त्यस दिन अन्य दिनको भन्दा ज्यादै अनुशासित समेत देखिएका थियौँ। सायद बुद्ध जन्मस्थल शान्तिभूमिमा पुगेपछि हामी सबै एकाएक शान्त भएका थियौ। त्यो सायद बुद्ध जन्मस्थलको हामीमा परेको प्रभाव हुन सक्छ । त्यहाँको शान्ति, स्तूप र इतिहासले मनलाई गहिरो स्पर्श गर्यो । लुम्बेनी परिसरभित्र बनेका विभिन्न देशका बौद्ध धर्मप्रतिका आस्थाका केन्द्रहरूको हामीहरूले अवलोकन गर्यौं । दिउँसोको समय भएकाले माथिबाट सूर्य देवताले लगातार तापक्रम बढाएको बढाए गरेपछि हिँडेरै सबै ठाउँमा पुग्न नसक्ने निष्कर्षमा पुगेर अटोमा सवार भएर पुरै लुम्बेनी परिसरको अवलोकन गर्यौं । २ बज्नै लाग्दा त्यहाँबाट फर्किएर साँझ खाना खाएकै ठाउँमा योजना अनुसार सबैजना खाना खान पुग्यौँ। खाना खाएर हामीले त्यही दिन यात्रा तय गर्ने योजना बनायौं । त्यहाँबाट फेरि सुरु भयो बर्दियातर्फको यात्रा !
त्यस दिन रातभर यात्रा गरेर १७ गते बिहान करिव ८ बजे बर्दियाको डल्ला होमस्टेमा आइ पुग्यौँ। त्यहाँ पुग्ना साथ होमस्टे सञ्चालकहरूले गरेको स्वागत र अपार मायाले गर्दा हाम्रो निन्द्रा र थकान सबै एकाएक हरायो।
केहीबेर हामीले डल्ला होमस्टेमै बस्ने वा धनगढी फर्किने भनेर छलफल गर्यौ। धेरै साथीहरुले धनगढी फर्किन्छौं भनेपछि हामी सबैले फर्किने निधो गरी १२ बज्नै लाग्दा डल्ला होमस्टेबाट बिदा भयौं। फर्किने क्रममा प्रकृतिको अनुपम उपहार बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने गरी अगाडि बढ्यौं । त्यहाँ पुग्नै लाग्दा डल्ला होमस्टेमा बस्न नपाएको दुःखलाई बिर्सने गरी राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्ती महोत्सव २०८३ मा एकैछिन रमायौँ । निकुञ्जभित्रको गोही प्रजनन केन्द्र र गैंडा लगायत अन्य , जनावरहरूलाई नजिकबाट नियाल्यौं । त्यहीँ समयमा बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्ती महोत्सवको उद्घाटन समारोहको लागि वन मन्त्री गीता चौधरी समेत आइपुग्नुभयो। जसले गर्दा स्वागतार्थ त्यहाँ स्थानीय पन्चेबाजा झाँकी सहितको प्रदर्शनले हामी समेत प्रफुल्लित भयौँ। बर्दिया राष्ट्रिय निकुञ्जको उक्त कार्यालय परिसरमा बाघको प्रतिमाको उद्घाटन गर्दै मन्त्री चौधरीले कार्यक्रम सुरु गरेको अवलोकन गरिसकेपछि हामीले फेरि धनगढीको लागि यात्रा प्रारम्भ गर्यौँ ।
अन्ततः, १७ गते साँझ ६ बजे, हामी फेरि कैलाली बहुमुखी क्याम्पसको गेट अगाडि पुगेर सबै छुट्टियौं। यसरी हामीले एक साताको यात्रालाई यहीँ विराम लगायौं। तर हाम्रो मन मस्तिष्कमा भने अनुभवहरूको यात्रा अझै जारी थियो।
यो यात्रा केवल स्थानहरूको अवलोकन मात्र थिएन। यो हाम्रो सोच, हाम्रो दृष्टिकोण र हाम्रो आत्माको यात्रा थियो। हामीले देख्यौँ; नेपालको विविधता, सुन्दरता र सांस्कृतिक गहिराइ। यो सँगै नजिकबाट थाहा पायौं चार वर्ष देखि क्याम्पसमा सँगै रहेका साथीहरूको विचार, भावना र व्यवहार!
यो हाम्रो शैक्षिक भ्रमणका क्रममा विभिन्न योगदान र आफ्ना व्यक्तिगत गतिविधिका कारण हरिनारायण भट्ट, गणेश जैशी, देवेन्द्र धामी , सागर बोहरा, दिपक चन्द, सन्तोष रावल, गिरिजाप्रसाद पनेरु, मञ्जु राना, संगीता उपाध्याय, करिष्मा उपाध्याय, किरन राना , सदिक्षा अधिकारी, जानकी शाह, सुदिप राना र प्रशिक्षक तथा हाम्रा अभिभावक उमेश विष्ट सँगै पोखराका होटल सञ्चालक अनि हामीलाई धनगढीदेखि मुक्तिनाथ र फेरि धनगढी सकुशल पुगाउने सवारी चालकहरु सदैव सम्झनामा आउनेछन् ।
अन्त्यमा ; यात्रा सकिन्छ, तर त्यसले दिएको अनुभूति कहिल्यै सकिँदैन।
