धनगढी, १४ चैत / कैलालीको बसन्ता संरक्षित वन क्षेत्रमा मानव र वन्यजन्तुबीचको सहअस्तित्व विकास तथा वन्यजन्तुको चोरीसिकारी र अवैध व्यापार नियन्त्रणका लागि सरोकारवालाहरू बिच एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका वडा नं. १२ स्थित जनता सामुदायिक वनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बसन्त वन संरक्षण क्षेत्रको जैविक महत्त्व, विद्यमान चुनौती र समाधानका उपायहरूका बारेमा विस्तृत छलफल गरिएको हो। पहलमानपुर डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत जनक पाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियाका क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बसन्ता वन क्षेत्रको रणनीतिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। उनले यो क्षेत्र भारतको दूधवा नेशनल पार्कबाट शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जसम्म वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य जैविक मार्ग (करिडोर) भएको उल्लेख गर्दै मानवीय अतिक्रमण र चोरीसिकारीका लागि थापिने पासोका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको बताए । वन्यजन्तुलाई निर्बाध रूपमा आवागमन गर्न सक्ने वातावरण बनाउन र सम्भावित क्षति कम गर्न गाउँबस्तीमा सचेतना फैलाउनुका साथै वन संरक्षणको पाटोलाई अब प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, घोडाघोडी संरक्षण संवर्द्धन तथा जनजागरण मञ्च नेपालका उपाध्यक्ष लक्ष्मी चौधरीले सामुदायिक वनहरूमा स्थानीय स्तरबाटै सचेतना जगाउनु आवश्यक रहेको औँल्याउदै । उनले चोरीसिकारी नियन्त्रण र वन डढेलो जस्ता जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सक्रिय सहभागिता हुनुपर्ने धारणा राख्दै । कार्यक्रममा सहभागीहरूले वन्यजन्तुको स्वभाव र आनीबानी अनुसार अपनाउनुपर्ने सतर्कता र अवैध व्यापार रोक्न संस्थागत संयन्त्रको भूमिकाका विषयमा समेत आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको समापन गर्दै डिभिजनल वन अधिकृत जनक पाध्यायले स्थानीय जनताको सक्रिय सहभागिता बिना वन र वन्यजन्तु संरक्षणका कार्यक्रम सफल हुन कठीनाइ पर्ने स्पष्ट पारे । उनले आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै स्थानीयको आयआर्जन र जीविकोपार्जनलाई सहज बनाउन संरक्षणका क्रियाकलापहरूलाई विशेष प्राथमिकता दिइने बताए । यसका साथै बसन्ता वन क्षेत्रको संरक्षणका लागि विशेष कार्ययोजना बनाई स्रोत, प्रविधि र क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवाला निकायहरूसँगको समन्वयमा नियमित गस्ती परिचालन गरिने समेत बताए। सो अवसरमा सहभागी सरोकारवालाहरूबीच पनि संरक्षणका कार्यमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त भयो।
उक्त कार्यक्रममा डिभिजन वन / सब डिभिजन वन कार्यालयका कर्मचारीहरु , राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो।