डोटी, १४ चैत्र / नेपाल तरुण दल जिल्ला कार्य समिति डोटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको घोर निन्दा गरेको छ। तरुण दल डोटीका अध्यक्ष टेक रावलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित एकपक्षीय तथा दुराशयपूर्ण कदम भन्दै कडा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छस् “नेपाल तरुण दल सधैं कानुनी राज्य, लोकतान्त्रिक मूल्य र विधिको शासनको पक्षमा उभिने संगठन हो। हालको राजनीतिक परिवेशमा जनताको व्यापक समर्थनका आधारमा वर्तमान सरकारले प्राप्त गरेको जनादेशलाई आत्मसात गर्दै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने महत्वपूर्ण अवसरलाई गम्भीरतापूर्वक लिन हामी जोडदार आग्रह गर्दछौं।”
तरुण दलले यस्ता एकपक्षीय निर्णयहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमा ठाडो प्रहार गर्ने तथा देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको चेतावनी दिएको छ।