धनगढी, १३ चैत/कैलालीको धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित भैरव बाबा आधारभूत विद्यालयले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। विद्यार्थी संख्या घट्दै गएपछि विद्यालयले यस्तो कदम चाल्न लागेको हो।
शान्त वातावरण, हराभरा परिसर, खेल मैदान, सुविधा सम्पन्न कम्प्युटर ल्याब र सुन्दर पुस्तकालयले सजिएको उक्त विद्यालयमा कुनै समय ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गर्थे। तर पछिल्लो समय अंग्रेजी माध्यमको पढाइ नहुँदा विद्यार्थी संख्या घटेर ७५ मा सीमित भएको विद्यालयले जनाएको छ।
विद्यार्थी संख्या घट्नुको मुख्य कारण पहिचान गर्दै विद्यालयका प्रधानाध्यापक बहादुर साउँदले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा समाजसेवीहरूसँग छलफल अघि बढाएका थिए। सोही छलफलबाट प्राप्त सहमतिका आधारमा विद्यालयले अंग्रेजी माध्यम लागू गर्ने निर्णय गरेको हो। विद्यालयले शैक्षिक सत्र २०८३ देखि नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने जनाएको छ।
विसं २०४५ मा स्थापना भएको यस विद्यालयमा पहिले कक्षा ८ सम्म पढाइ हुने गरेको भए पनि हाल कक्षा ५ सम्म मात्र सञ्चालन हुँदै आएको छ।वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग भइरहेको बताए। विद्यालयले अंग्रेजी माध्यम लागू गरेसँगै विद्यार्थी संख्या वृद्धि गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।