धनगढी १२ चैत/ नेपालस्थित अमेरिकी दूतावासको पहलमा सुदूरपश्चिम प्रदेश केन्द्रित उद्यमशीलता सीप–निर्माण कार्यक्रम धनगढीमा सुरु गरिएको छ। इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र एडभान्स आइडियाजसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
नेपालका प्रमुख व्यावसायिक शहरहरूमा सञ्चालन गरिने यस पहलले प्रारम्भिक चरणमा रहेका नेपाली उद्यमीहरूलाई दिगो व्यवसाय निर्माण, लगानी आकर्षण तथा प्रतिस्पर्धात्मक बजारमा टिक्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
यो कार्यक्रम सुदूरपश्चिमबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, बुटवल, भैरहवा र पोखरामा सञ्चालन हुनेछ। पहिलो चरणमा २०० उद्यमी प्रत्यक्ष कार्यशाला गोष्ठी तथा बहु मोडुलर प्रशिक्षणमा सहभागी हुने इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका निर्देशक रोशन घिमिरेले जानकारी दिए ।
प्रशिक्षण सत्रहरूमा व्यवसायका आधारभूत पक्ष, बजार पहुँच, लगानी व्यवस्थापन, प्रभावकारी सञ्चार, डिजिटल प्रविधिको प्रयोग लगायत विषय समेटिने छन्। यसले उद्यमीहरूलाई रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा आर्थिक वृद्धिमा योगदान गर्न सक्षम बनाउने विश्वास गरिएको छ।
यो कार्यक्रमले आर्थिक वृद्धि र नवप्रवर्तनका लागि उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस कार्यक्रमले नेपाली निजी क्षेत्रलाई सुदृढ बनाउन र नेपाल-अमेरिका व्यापार तथा सहकार्य विस्तार गर्न मद्दत पुग्ने आयोजकले बताएको छ ।
उक्त कार्यक्रम अमेरिका-नेपाल वाणिज्य कूटनीति अन्तर्गतको एक पहल रहेको जनाइएको छ, जसले दुई देशबीचको आर्थिक सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ। साथै, उद्यमीहरूलाई अमेरिकी कम्पनीहरूसँग सहकार्यका अवसर खोज्न सहयोग गर्ने उद्देश्यसमेत राखिएको छ।