प्रतापपुर(कैलाली) ७ चैत/नियतिले नै ठगेको हुनुपर्छ, त्यसैले त उनलाई आजसम्म पनि पशु सरह बाँधेर राख्नुपरेको छ । यो कारुणिक दृश्य हो लम्कीचुहा नगरपालिका –७ प्रतापपुर, हर्दानीकी ३६ वर्षीया निर्मला देउवाको हो ।
निर्मलालाई सधैँ साङ्लोले बाँधेर राख्नुपर्ने बाध्यता परिवारमा छ । पशु जस्तै सधैँ साङ्लोले बाँधिएकी उनीमाथि निगरानी गर्न घरमै कसैले न कसैले गोठालो बसे जस्तै कुरेर बस्नुपर्ने अवस्था छ । शरीरका सबै अंग स्वस्थ देखिए पनि उनी मानसिक अपाङ्गताबाट पीडित भएकी छन् ।
निर्मलाका बुबा खगेन्द्र देउवाका अनुसार कक्षा ९ सम्म पढ्दासम्म उनी सामान्य जीवन बिताइरहेकी थिइन् । स्वभाव र आनीबानी पनि राम्रो थियो । तर अचानक बिरामी परेपछि उनको अवस्था बदलियो र बिस्तारै मानसिक समस्या देखिन थाल्यो ।
निर्मलाको उपचारका लागि परिवारले धेरै प्रयास गरेको छ । नेपालकै प्रमुख वीर अस्पताल देखि भारतका विभिन्न अस्पतालसम्म उपचार गराइए पनि सुधार हुन सकेन। बुबा खगेन्द्र देउवा भन्छन्, “छोरी घरबाट भागेर यताउता जाने, जहाँ पुगे पनि बस्ने र घर फर्केर नआउने गर्न थालेपछि सुरक्षाका लागि बाधेर राख्नुपरेको हो ।”
निर्मलासँगैका सबै दाजुभाइ–दिदीबहिनीको घरजम भइसकेको छ । तर ३६ वर्ष पुग्दा पनि उनी अझै आमा बुवाकै संरक्षणमा छिन् । छोरीको भविष्यप्रति चिन्तित बुबा खगेन्द्र देउवा भक्कानिँदै भन्छन्, “छोरीको म रहुन्जेल त जसरी पनि स्याहार– सुसार गर्छु । तर हामी नै नभएपछि यो कसरी रहने हो भन्ने चिन्ताले झन् सताउँछ ।”
परिवार आर्थिक रूपमा पनि कमजोर भएकाले दीर्घकालीन उपचार र व्यवस्थापन गर्न कठिन भइरहेको उनी बताउँछन् । खगेन्द्र देउवाले राज्य तथा सम्बन्धित निकायसँग छोरीको दीर्घकालीन व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । “कहीँ कतैबाट यो समस्याको समाधान हुने हो कि, मेरी छोरीको दीर्घकालीन व्यवस्थापन कसरी हुन सक्छ भन्नेमा सबैले सहयोग गरिदिनुहोस्,” उनले आग्रह गरे ।