धनगढी , ७ चैत / आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसककंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । ईद उल फित्रमा सरकारले सार्वजनिक विदा दिने गरेको छ । यस वर्ष पनि विदा दिइएकोमा शनिबार पनि परेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र) शनिबार परेको जानकारी गराएको थियो । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ ।
मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सूचनामा उल्लेख छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।