धनगढी ५ चैत/धनगढीमा परियोजना व्यवस्थापन र वित्तीय जिम्मेवारी सम्बन्धी तीनदिने कर्मचारी प्रशिक्षण कार्यक्रम सुरु भएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजना, धनगढी उपमहानगरपालिकाको समन्वय तथा अपांगता अधिकार कोषको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम संस्थाका अध्यक्ष रमेश बस्नेतको सभापतित्वमा सुरु भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सुदूरपश्चिम प्रदेशमा नीतिगत सुधार, जलवायु अनुकूलता र अपाङ्गता समावेशीकरणका क्षेत्रमा काम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजनाअन्तर्गतको पहिलो कार्यक्रम भएको उल्लेख गर्दै यसले कर्मचारीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त विज्ञद्वारा सहजीकरण गरिने भएकाले तालिम उपलब्धिमूलक हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। साथै सहभागी कर्मचारीलाई तालिमबाट अधिकतम ज्ञान हासिल गर्न आग्रह पनि गर्नुभयो।
तालिमका सहजीकर्ता तथा प्रशिक्षक यज्ञ बिक्रम शाहीका अनुसार कार्यक्रममा संस्थाका कर्मचारी तथा अभिभावकलाई परियोजना व्यवस्थापन, वित्तीय व्यवस्थापन र अपाङ्गता समावेशीकरणका विविध पक्षबारे जानकारी दिइनेछ। सहभागीहरूले भोगिरहेका व्यवहारिक समस्या, जिज्ञासा र समाधानका उपायबारे छलफल तथा अनुभव आदानप्रदानसमेत गरिने उहाँले जानकारी दिनुभयो। स्रोतसाधनको अभाव, परियोजना सञ्चालनका चुनौती तथा तिनको समाधानका उपायबारे पनि आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव साट्ने उहाँको भनाइ छ।
यसै क्रममा समाज, परिवार र विद्यालयस्तरमा अपाङ्गता भएका बालबालिकाको पहुँच र अधिकार सुनिश्चित गर्ने विषयमा समेत विशेष जोड दिइनेछ। डाउन सिन्ड्रोम समाज कैलाली लगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा अपाङ्गता क्षेत्रमा भइरहेको कामबारे पनि जानकारी गराइएको छ।
कार्यक्रमका प्रमुख अतिथि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता उपसचिव भरत प्रसाद श्रेष्ठले अटिजम भएका बालबालिका पनि समाजकै अभिन्न हिस्सा भएको उल्लेख गर्दै उनीहरूको हेरचाह, अधिकार र समावेशी सहभागिताका लागि सबैले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो। उनले प्रत्येक व्यक्तिमा निहित क्षमता उजागर गर्दै समाज, देश तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। कर्मचारी र अभिभावकले समान दृष्टिकोण र व्यवहार अपनाएमा अटिजम भएका बालबालिकाको उचित हेरचाह र सामाजिक समावेशीकरण सम्भव हुने उहाँको भनाइ छ।
कार्यक्रममा २७ जना अटिजम भएका बालबालिकासँग आबद्ध कर्मचारी तथा अभिभावक सहभागी रहेका छन्। उनीहरूलाई सामाजिकरण, हेरचाह र समावेशी वातावरण निर्माणका सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन सम्झना जिसीले गर्नुभएको थियो भने स्वागत तथा सम्मान कार्यक्रमअन्तर्गत शिक्षक सानु सुबेदी तिमिल्सेना र अस्मिताले प्रमुख अतिथिलगायतलाई खादा तथा माला अर्पण गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा तथा पत्रकार टेकराज जोशीलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
