धनगढी / विगत ६ महिना देखि प्रदेश सभा सचिवालको सम्पर्कमा नरहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाको सेवा सुविधा रोकिएको छ । पूर्व समेत रहेका उनी भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रदेशसभा सचिवालयको सम्पर्कमा छैनन् । देउवा निकट कांग्रेस कैलालीका नेताहरुका अनुसार जेन–जी आन्दोलको चार दिनपछि उनी अमेरिका उडेका थिए ।
सोहि समयदेखि देउवा प्रदेशसभा बैठकमा पनि उपस्थित भएका छैनन् । सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ मा लगातार १० बैठकमा विनासूचना अनुपस्थित भए प्रदेशसभा पद नै रिक्त हुनसक्ने कानुनी प्रावधान छ । तर, प्रदेशसभा सचिवालयका अनुसार पछिल्लो सात महिनायता सात वटा मात्रै प्रदेशसभा बैठक भएका छन् । जसका कारण देउवाको पद भने यथावत छ ।
यद्यपी सम्पर्कविहीन जस्तै रहेका देउवाको तलब सुविधा भने प्रदेशसभा सचिवालयले रोकेको छ । सम्पर्कविहीन प्रदेशसभा सदस्यको तलब भुक्तानी गर्दा प्रश्न उठ्ने देखिएपछि रोकिएको जनाइएको छ ।
देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । उनी २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।