धनगढी २५ फागुन/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब बन्ने सरकारलाई शुभकामना दिदै मुलुक बनाउने र निर्माण गर्ने स्पष्ट जनादेश दिएको बताएका छन् । कैलालीको लम्कीमा एक बिद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएको बताएका छन् ।
मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने बताए । उनले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानुपर्ने आग्रह गरेका छन् ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा प्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण जनशक्ति र आम जनतालाई धन्यवाद तथा आभार व्यक्त गर्दै मुख्यमन्त्री शाहले अब मुलुकलाई जनताको अपेक्षा र युवाको चाहनाअनुसार अघि बढाउनुपर्ने बताएका छन् । उनले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।