बैतडी , २४ फागुन / बैतडीको प्रतिनिधि सभा निर्वाचनले यसपटक जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन ल्याएको छ। विगतदेखि नेकपा एमालेले निरन्तर जित्दै आएको क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएसँगै एमालेका उम्मेदवार दामोदर भण्डारीको संसदीय यात्रामा ब्रेक लागेको छ भने रास्वपाका भण्डारीको संसदीय यात्रा सुरु भएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भण्डारीले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका हुन्। लामो समयदेखि एमालेको प्रभाव कायम रहेको बैतडीमा यसपटक नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले जित निकाल्नु स्थानीय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
वि.सं. २०२३ साल कात्तिक १५ गते बैतडीको पाटनमा जन्मिएका हरिमोहन भण्डारीले स्नातक तहसम्म अध्ययन गरेका छन्। उनका बुवा लक्ष्मणसिंह भण्डारी र आमा रत्ना भण्डारी हुन्। पारिवारिक राजनीतिक पृष्ठभूमिकै प्रभावले उनले प्रारम्भिक समयदेखि नै राजनीतिमा चासो राख्दै आएका थिए।
भण्डारीले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरु गरेका थिए। पछि उनी नेपाली कांग्रेसमा सक्रिय रहेर लामो समय संगठन निर्माण र राजनीतिक गतिविधिमा संलग्न रहे। वि.सं. २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसको क्रियाशील सदस्य बनेका उनले तीन पटकसम्म महासमिति सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए।
कांग्रेसमा करिब दुई दशकभन्दा बढी समय सक्रिय रहेका भण्डारी पछिल्लो समय पार्टीबाट अलग हुँदै नयाँ राजनीतिक यात्रामा लागेका थिए। २०७९ सालको प्रदेश सभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले ११ हजार १८ मत प्राप्त गरेका थिए, जुन कांग्रेसका आधिकारिक उम्मेदवारले पाएको मतभन्दा बढी थियो। तर त्यसबेला उनी नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।
कांग्रेसबाट अलगिएपछि भण्डारी प्रतिनिधि सभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए। नयाँ दलबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका उनले यसपटक भने विजय हासिल गर्दै पहिलोपटक संघीय संसद्मा प्रवेश गरेका छन्।
निर्वाचन अभियानका क्रममा उनले बैतडीका विकासका समस्या, बेरोजगारी, सडक र शिक्षा–स्वास्थ्यका विषय संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रास्वपाबाट भण्डारीको विजयसँगै बैतडीमा नयाँ राजनीतिक समीकरणको सुरुवात भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।