प्रिय गगन दाइ,
राजनीतिमा कहिलेकाहीँ शब्दभन्दा पनि अनुहार बोल्छ। विचारभन्दा पनि छविले चुनाव जिताउँछ वा हाराउँछ। यही सन्दर्भमा तपाईंले एक समय भन्नुभएको थियो- “देउवाको अनुहार लिए काँग्रेस सखाप हुन्छ।” सायद त्यसैले होला, तपाईंले आफ्नै अनुहार, आफ्नै शैली र नयाँ पुस्ताको भाष्य लिएर मैदान रोज्नुभयो। तर आजको परिणाम आफैंमा एउटा प्रश्न बनेर उभिएको छ-के केवल अनुहार बदल्दा राजनीति बदलिन्छ ?
जेन–जी विद्रोहपछि पुराना राजनीतिक दलमाथि चारैतर्फबाट आक्रमण भयो। त्यसको प्रत्यक्ष प्रभाव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि पर्यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने प्रयास हुँदा एमालेका महेश बस्नेतले उनलाई “फलामे वार” जस्तै संरक्षण दिएर राजनीतिक इमानदारी पनि देखाए। सबैलाई त्यो राम्रो लाग्ला भन्ने छैन, तर घरको अभिभावकलाई संरक्षण गर्नु दायित्व पनि हो। यसलाई अभिभावकप्रतिको बफादारीता भन्न सकिन्छ। यो चुनाव हारियो होला, तर लोकतान्त्रिक पद्धतिमा परिणाम स्वीकार्नु पनि आवश्यक हुन्छ। राजनीतिमा इमानदारीता र बफादारीता भन्ने यी दुई शब्दले गहिरो प्रभाव पार्छन्।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा कुटपिट गरिएको घटना निकै दुर्भाग्यपूर्ण थियो। राष्ट्रकै सबैभन्दा ठूलो दलका सभापति, भद्र र मिलनसार स्वभावका व्यक्तिमाथि यस्तो अमानवीय व्यवहार हुनु कुनै पनि दृष्टिले राम्रो मान्न सकिँदैन।
यस घटनापछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवालाई किनारा लगाउने अवसरको रूपमा यसलाई प्रयोग गरेको जस्तो देखियो। पूर्वीय स्वार्थी राजनीतिका चतुर खेलाडी मानिने गगन-विश्वले समय र कमजोरीको भरपूर फाइदा उठाए भन्ने आरोप पनि लाग्यो। देउवाले सिकाएका र देखाएका बाटाहरूलाई नै अन्ततः बुढेसकालमा पीडा र अपमानको रूपमा फर्काइयो भन्ने गुनासो पनि सुनियो।
यदि गगन सभापति बन्नु केवल सीमित समयका लागि गरिएको व्यवस्था हो भने, त्यो निर्वाचन प्रहरीको म्यादी पदजस्तै ‘म्यादी सभापति’ जस्तो देखिन सक्छ। त्यसैले नैतिकताको आधारमा हेर्दा, यदि वास्तवमै नैतिकता छ भने निर्वाचनपछि तपाईंले पनि राजीनामा दिनुपर्छ भन्ने आवाज उठ्नु स्वाभाविक हो।
हाम्रो नेपाली समाज, विशेषगरी सुदूरपश्चिमेली समाज, परम्परा र संस्कारले गाँसिएको समाज हो। यहाँ अग्रजप्रति सम्मान गर्ने संस्कार निकै गहिरो छ। यहाँ धेरैले नेता रोज्दा नीतिभन्दा पनि विश्वास रोज्छन्, विचारभन्दा पनि सम्बन्ध रोज्छन्। कतिपय अवस्थामा त आँखा चिम्लेरै अग्रजलाई विश्वास गर्ने चलन अझै बलियो छ। यो सुदूरपश्चिमेली र नेपाली समाजको विशेषता पनि हो।
राजनीतिक दलहरूभित्र पनि यही मनोविज्ञान काम गर्छ। पुस्ता परिवर्तनको आवाज जति ठूलो भए पनि समाजको मनभित्र अझै ‘अग्रजको छायाँ’ बलियो छ। त्यसैले नयाँ पुस्ताले केवल पुरानालाई आलोचना गरेर होइन, पुरानाको अनुभव र जनविश्वासलाई सम्मान गर्दै अघि बढ्नुपर्छ।
राजनीतिमा परिवर्तन केवल अनुहारले होइन, व्यवहारले आउँछ। नारा र भाषणले होइन, धैर्य र भरोसाले आउँछ। नयाँ पुस्ताले पुरानाको सम्मान र नयाँ सोचलाई सन्तुलनमा राख्न सके मात्र परिवर्तन स्थायी हुन सक्छ।
आजको परिणामले एउटा स्पष्ट सन्देश दिएको छ-नेपाली समाज अझै पनि भावनात्मक भरोसामा बाँचेको समाज हो। यहाँ नेताको अनुहार मात्रै होइन, उसको संस्कार, विनम्रता र अग्रजप्रतिको सम्मानले पनि मतदाताको मन जित्छ। राजनीतिमा नयाँ पुस्ताको आवश्यकता छ, तर त्यो नयाँपन परम्पराको अपमान होइन, त्यसको सम्मानसहितको रूपान्तरण हुनुपर्छ। किनकि नेपालजस्तो समाजमा परिवर्तनको बाटो विद्रोहभन्दा पनि विश्वासबाट खुल्छ।
अन्त्यमा एउटा प्रश्न उठ्छ—अनुहार बदल्दा राजनीति बदलिन्छ कि सोच बदल्दा ?
प्रिय गगन-विश्व दाइ, देउवाप्रति तपाईंहरूले अपनाएको व्यवहारलाई इतिहासले कसरी मूल्यांकन गर्ने हो, त्यो समयले बताउनेछ। तर राजनीतिमा अपमान स्वीकार गर्न सक्ने साहस पनि हुनुपर्छ।
यी शब्दहरू लेख्दा कसैले संगठनविरुद्ध गएको ठान्न सक्छ। तर यसको जवाफ तपाईंका सहकर्मी, हाम्रो बझाङका उम्मेदवार र बझाङका काँग्रेस कार्यकर्तालाई सोध्न सकिन्छ-मेरो वडा र बुथमा मैले कति मत दिलाएँ भनेर। म घात गर्ने मान्छे होइन, ईर्ष्या पनि राख्दिनँ। जे यथार्थ हो, भोलिका दिनमा जिम्मेवारी लिन सक्ने गरी स्पष्ट बोल्ने बानीले कहिलेकाहीँ म तितो देखिन सक्छु। तर यही मेरो नैतिकता हो।
ललिबहादुर सिह/लेखक बझाङ जिल्लामा समाजिक क्षेत्रमा सकृय व्यक्ती हुन् ।
