धनगढी, १९ फागुन / नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सा–साना समूहमा सक्रिय सञ्चारकर्मीहरूबीच सहकार्य बढ्दा समग्र पत्रकारिता क्षेत्रमै सकारात्मक प्रभाव पर्ने बताएका छन् । घोडाघोडी सञ्चारकर्मी समुहले मंगलबार सुखडमा होलीको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
पत्रकारिताको आचारसंहिताप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै देउवाले पछिल्लो समय पेशाको दुरुपयोगका घटनाले चिन्ता बढाएको उल्लेख गरे । प्रविधिको तीव्र विकाससँगै मिथ्या सूचनाको बिगबिगी बढेकाले पत्रकारले सत्यतथ्यमा आधारित सूचना समाजसमक्ष पुर्याउन अझ जिम्मेवार बन्नुपर्ने उनले जोड दिएका छन् ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई एकै थलोमा भेला गराई शुभकामना आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । कार्यक्रममा पत्रकारहरूबीच रङ्गीबिरङ्गी होलीको उल्लाससँगै समसामयिक पत्रकारिता, पेशागत जिम्मेवारी र सम्बन्ध विस्तारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासघ सुदूरपश्चिम प्रदेशकी सचिव इन्द्रा केसी प्रमुख आथित्यता भएको थियो भने विशिष्ट अतिथिमा नेपाल पत्रकार महासघ सुदूरपश्चिम सदस्य भिम चौधरी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए ।
घोडाघोडी सञ्चारकर्मी समूहका अध्यक्ष खेम ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य जमुना न्युरे, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य लिलाजंग शाही, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकी पुर्व उपाध्यक्ष चाँदनी आचार्य, प्रेस सेन्टरका प्रकाश मिश्र, प्रेस चौतारीका प्रदेश महासचिव भानुभक्त आचार्य, प्रेस युनियन कैलालीका अध्यक्ष सीताराम ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।