धनगढी / फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएका छन् । राजनीतिक दलहरूले सार्वजनिक स्थल, शैक्षिक संस्था, मठमन्दिर लगायतका स्थानमा पार्टीका झण्डा तथा प्रचार सामग्री राख्ने कार्य तीव्र बनाएको देखिएको छ ।
यसै क्रममा कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठामा रहेको श्री भवानी माध्यमिक विद्यालयको मुख्य गेटमा नियमविपरीत रूपमा दलका झण्डा टाँसिएको पाइएको छ । प्रत्यक्षदर्शीका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टी का झण्डा विद्यालय परिसरमा राखिएको थियो ।
निर्वाचन आचारसंहिता अनुसार शैक्षिक संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्तिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचार सामग्री राख्न, टाँस्न वा प्रदर्शन गर्न पाइँदैन। यस्तो कार्यलाई आचारसंहिता उल्लंघन मानिन्छ ।
स्थानीय बासिन्दाहरूले शैक्षिक संस्था जस्तो संवेदनशील स्थानमा राजनीतिक गतिविधि नगर्न आग्रह गरेका छन् । उनीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही गर्नुपर्ने माग गरेका छन ।
जिल्ला निर्वाचन कार्यालयले आचारसंहिता उल्लंघनका घटनाबारे जानकारी आएमा तत्काल छानबिन गरी आवश्यक कारबाही गरिने जनाएको छ । निर्वाचन स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ ।