धनगढी, १६ फागुन / यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रायः उम्मेदवारले यस क्षेत्रका ठुला राष्ट्रिय योजनालाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । दलहरूले यस क्षेत्रको मात्रै नभएर देशकै विकासमा योगदान दिन सक्ने ठुला जलविद्युत आयोजना देखि भारत नेपाल चीन जोड्ने राजमार्गका योजना अघि सारेका छन् । जुन योजना दशकै देखि सुनाइँदै आएका भए पनि पुरा भने भएका छैनन् ।
दलका घोषणापत्रमा सेती र महाकाली लोक मार्गमार्फत सुदूरपश्चिम प्रदेशका तराई, पहाड र हिमाली सीमा नाका जोड्ने परिकल्पना गरिएको छ। घोषणामा कैलाली र कञ्चनपुरलाई बझाङको उरैभन्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट नाकासित जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। तर, यस पटक पनि दलको घोषणा पत्रमा समेटिएका सेती र महाकाली लोक मार्ग निर्माण सुरु भएको १७ वर्ष पुगिसकेको छ । यी दुई सडक सञ्चालनमा आएपछि समग्र सुदूरपश्चिम प्रदेशको विकासमा गतिलो इँटा थपिने अपेक्षासमेत गरिएको छ ।
महाकाली लोक मार्ग ४१७ र सेती लोक मार्ग ३५९ किलोमिटर लामो रहेका छन् । आसन्न निर्वाचनमा प्रायः ठुला दलका उम्मेदवारले यी दुवै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
प्रायः उम्मेदवारले मुख्य रूपमा महाकाली, सेती र कर्णाली नदी प्रणाली सुदूरपश्चिमको ऊर्जा मेरुदण्ड मान्दै तिनको निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ती नदीबाट १० देखि १२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना मात्रै छ हजार ४८० मेगावाट उत्पादन गर्ने प्रारम्भिक अनुमान छ । दशकौँदेखि चर्चामा रहेको पश्चिम सेती ७५० मेगावाटको निकै आकर्षक योजना मानिएको छ । एकीकृत महाकाली सम्झौता अन्तर्गत पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउने भनिएको करिब तीन दशक बितिसकेको छ ।
कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाह पनि देशकै लागि ‘गेम चेन्जर’ योजना हो । कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने विषय पनि दलहरूले घोषणापत्रमा उल्लेख गरेका छन् ।
घोषणापत्रमा पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण कोरिडोरको निर्माण सम्पन्न गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण, हुलाकी राजमार्गका नयाँ सहरमा आधुनिक सुविधा विस्तार गर्ने जस्ता कुरा उठाइएका छन् ।
दलहरूको घोषणा पत्रमा खप्तड, बडीमालिका, अपि–साइपाल, शुक्लाफाँटा, घोडाघोडी, टीकापुर पार्क र कर्णाली चिसापानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउने कुरा पनि समेटिएका छन् ।
