धनगढी, ९ फागुन / आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट फागुन ९ गते १ सय ५५ जना प्रहरी टोली अछाम जिल्लातर्फ परिचालन गरिएको छ। निर्वाचनका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उक्त टोलीलाई अग्रिम रूपमा पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ४० जना प्रहरी टोली कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रस्थान गरेका छन्। ती जिल्लामा निर्वाचनको शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक सुरक्षा समन्वय र व्यवस्थापनका लागि टोली खटाइएको बताइएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयहरूमा थप मद्दत पुर्याउन अन्य प्रहरी टोलीहरू समेत क्रमशः परिचालन भइरहेका छन्। निर्वाचन अवधिभर मतदाता, उम्मेदवार तथा कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ।
सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय बनाउन सबै सरोकारवालासँग समन्वय गर्दै काम गरिरहेको जनाएको छ।