धनगढी, ८ माघ / सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन लक्षित गर्दै निर्वाचन परिवेक्षकहरूको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नियोकको (NEOC) को आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता नियोकका सुदूरपश्चिम प्रदेश अध्यक्षता देवी प्रसाद खनालले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय समिति, प्रदेश तथा जिल्ला स्तरका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। निर्वाचनको संवेदनशील घडी नजिकिँदै गर्दा परिवेक्षकहरूलाई जिम्मेवारीबोध गराउने उद्देश्यले अभिमुखिकरण आयोजना गरिएको आयोजकले जनाएको छ।
अभिमुखिकरणमा सहभागी परिवेक्षकहरूलाई निर्वाचनसम्बन्धी कानुनी प्रावधान, आचारसंहिता, मतदान केन्द्रमा पालना गर्नुपर्ने प्रक्रिया, मानवअधिकार संरक्षण, प्रतिवेदन लेखन तथा सूचना व्यवस्थापनलगायतका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। निर्वाचन अवधिभर निष्पक्ष र स्वतन्त्र रूपमा अवलोकन गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्न विशेष जोड दिइएको थियो।
कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा विभिन्न जिल्लाबाट आएका परिवेक्षकहरूको सहभागिता रहेको थियो। प्रशिक्षकहरूले पारदर्शिता, उत्तरदायित्व र मतदाताको विश्वास अभिवृद्धिमा परिवेक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
यसैबीच, नवऊर्जावान युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुदूरपश्चिमका १० जना ‘जेन्जी’ नवयुवा परिवेक्षकहरू पनि विभिन्न निर्वाचन स्थलमा खटिने जानकारी ‘जेन्जी’ परिवेक्षक प्रतिनिधि पदम धामीले दिएका छन्। उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा परिचालित हुने परिवेक्षकहरूले मतदानपूर्व, मतदान दिन तथा मतदानपश्चात् तीनै चरणमा अनुगमन गरी प्रतिवेदन केन्द्रमा बुझाउनेछन्। यसले निर्वाचन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका अवसरमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहँदै नियोकका केन्द्रीय उपाध्यक्ष देवकी तिमिल्सिनासामु परिवेक्षकहरूले सपथसमेत ग्रहण गरेका थिए।
सुदूरपश्चिममा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रमले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी, विश्वसनीय र उत्तरदायी अपेक्षा गरिएको छ।