धनगढी, ७ फागुन /अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न संकायबाट २४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान समूह प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यसैगरी, व्यवस्थापन संकाय तेस्रो सेमेस्टर समूह द्वितीय स्थानमा रहँदा , व्यवस्थापन संकाय छैटौं सेमेस्टर समूह तृतीय स्थान हासिल गर्न सफल भएको छ।
विजेता टिमहरूलाई क्रमशः नगद रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस कमिटी सचिव दशरथ भट्टले जानकारी दिए।
क्याम्पस कमिटी अध्यक्ष पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य किशोर शाह प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सह-संयोजक यमराज जोशी, कैलाली जिल्ला अध्यक्ष कुबेर खड्का, प्रदेश कमिटी सदस्यहरू दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा वक्ताहरूले प्रजातन्त्र दिवसको महत्व उजागर गर्दै विद्यार्थीहरूमा बौद्धिक विकास र नेतृत्व क्षमताको अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
