धनगढी, ५ फागुन / कैलाली जिल्लाको कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब ३बजे कैलारी–७ बस्ने ४० वर्षीय दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट आउँदै गरेकी कैलारी–५ बस्ने करिब ३०/३५ वर्षीया ईप्सा चौधरीले चलाएको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक ईप्सा चौधरीलाई उपचारका लागि धनगढीस्थित अस्पताल लगिएको थियो। नवजीवन अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ४ बजे उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक दिपेन्द्र बमको मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। सोही गाडीमा सवार कैलारी–७ बस्ने ५० वर्षीया तारा चौधरीको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ र नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, ३४ वर्षीय बलिराम चौधरीको शरीर तथा बायाँ हातमा चोट लागेको छ भने ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक ऐन बहादुर पालको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हसुलियाबाट करिब ५ सय मिटर पूर्वतर्फ पर्ने जनाएको छ। गाडी घटनास्थलमै रहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।