धनगढी, ४ फागुन/ नेपाली जनसम्पर्क समिति, अमेरिका (एनपीआरसीए) ले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अमेरिकामा निर्वाचन परिचालन प्रचार प्रसार समिति गठन गरेको छ। संस्थाको कार्यबाहक सभापति धनञ्जय नरसहि केसीको अध्यक्षतामा फेब्रुअरी ८, २०२६ मा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो।
सोही निर्णयअनुसार केलाली निर्वाचन क्षेत्र नं ४ का लागि अमेरिकामा रहेका नेता तथा कार्यकर्ताहरूलाई परिचालन गर्न रामबहादुर देउवालाई संयोजकको जिम्मेवारी तोकिएको छ। संस्थाका महासचिव मुनीद नेम्बाडले जारी गरेको पत्रअनुसार देउवाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण दाजुभाइ तथा कार्यकर्ताहरूसँग समन्वय गर्दै प्रचार(प्रसारलाई प्रभावकारी बनाउनुपर्नेछ।
समितिले कैलाली क्षेत्र नं ४ बाट प्रत्याशी रहने उम्मेदवार श्री गौरखबहादुर बिष्ट (आनन्द) लाई विजयी गराउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। संयोजक देउवाले सम्बन्धित उम्मेदवारको सचिवालयसँग निरन्तर सम्पर्क तथा समन्वय राख्दै अमेरिकामा रहेका मतदाताहरूबीच चुनावी अभियानलाई तीव्रता दिनुपर्ने जिम्मेवारी पाएका छन्। संस्थाले विदेशमा रहेका नेपालीहरूलाई जोड्दै आगामी निर्वाचनमा सहयोग पुर्याउन यो अभियान थालेको जनाएको छ।