धनगढी, २९ माघ / धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फुड फेस्टिभल सञ्चालन गरिएको छ। माघ २८ गतेदेखि सुरु भएको उक्त फेस्टिभल फागुन १ गतेसम्म सञ्चालन हुने विद्यालयका प्राचार्य संजय पन्तले जानकारी दिए। उनका अनुसार फेस्टिभलको मुख्य उद्देश्य विद्यार्थीहरूमा उद्यमशील सोच, सामूहिक कार्य गर्ने क्षमता, नेतृत्व विकास तथा अध्ययनसँगै व्यवहारिक सीप अभिवृद्धि गर्नु हो।
“पढाइसँगै प्रत्यक्ष अनुभवमार्फत सिकाइ प्रभावकारी हुन्छ,” प्राचार्य पन्तले भने, “यस कार्यक्रमले विद्यार्थीलाई भविष्यमा व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा आत्मनिर्भर बन्ने आधार तयार गर्छ।”
फेस्टिभलमा विद्यार्थीहरूले समूहगत रूपमा विभिन्न खाद्य परिकार तयार गरी बिक्री-वितरण गरिरहेका छन्। यस प्रक्रियाबाट उनीहरूले योजना बनाउने, बजेट व्यवस्थापन गर्ने, ग्राहकसँग संवाद गर्ने तथा बजार व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।
विद्यालयले उक्त फेस्टिभललाई शैक्षिक मूल्याङ्कनसँग समेत जोडेको जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको सहभागिता, व्यवस्थापन क्षमता र प्रस्तुतीकरणको आधारमा मूल्याङ्कन गरिने प्राचार्य पन्तले बताए।
हरेक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको सिकाइ अनुभव दिलाउँदै आएको विद्यालय प्रशासनको भनाइ छ।